महाअभियोग लगाईएका दक्षिण कोरियाका राष्ट्रपति पक्राऊ

2
views

दक्षिण कोरियाका भ्रष्टाचारविरोधी अनुसन्धानकर्ताहरूले देशका निलम्बित राष्ट्रपति यून सुक यउललाई पक्राउ गरिएको जनाएका छन् ।
यउललाई देशद्रोह र अख्तियार दुरुपयोग गर्दै ’मार्शल ल’ लागु गर्ने प्रयाससम्बन्धी अभियोगबारे बयानका लागि त्यहाबाट लगिएको बताइएको छ ।
यससगै उनी पदमा रहदै पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बनेका छन् ।

सोलस्थित सरकारी निवासमा पुग्नका लागि अनुसन्धानकर्ता र प्रहरीले राष्ट्रपतीय सुरक्षा सेवाले खडा गरेका अवरोधहरू छिचोल्नु परेको थियो ।
उनीहरूले त्यस निवास परिसरबाहिर उपस्थित भएका यउलका हजारौ समर्थकहरूको समेत सामना गरेका थिए । जस क्रममा मुख्य ढोकाबाहिर भएको झडपमा एक जना घाइते भए ।

स्थानीय समय अनुसार बिहान १० बजेर ३३ मिनेट जादा उनलाई पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन् ।
निलम्बित राष्ट्रपति यउलका तर्फबाट जारी एक विज्ञप्तिमा उनले ’रक्तपात’ छल्नका लागि आफू पक्राउ हुन तयार भएको जनाए तापनि त्यसको अर्थ आफू अनुसन्धानका लागि सहमत भएको भन्ने नरहेको जनाइएको छ ।
एक संक्षिप्त भिडिओमार्फत् उनले उक्त अनुसन्धानलाई ’गैरकानुनी’ बताउँदै देशमा कानुनीराज टुटेको बताएका छन् ।

उनले आफूबारे अनुसन्धान गर्ने र पक्राउ पुर्जी जारी गर्ने अदालतसग त्यस्तो अधिकार नरहेको बताए ।
अब उनी त्यहाको भ्रष्टाचार अनुसन्धानसम्बन्धी कार्यालयमा उपस्थित गराइनेछन् जसले यसअघि उपस्थितिका लागि गरेको निर्देशनलाई उनले बेवास्ता गरेका थिए ।
अनुसन्धानकर्ताहरूले यस महिनाको सुरुमासमेत उनलाई पक्राउ गर्न खोजे पनि असफल भएका थिए । उनको महाभियोगसम्बन्धी सुनुवाइ मङ्गलवार सुरु भए पनि उनी उपस्थित नभएका कारण चार मिनेटमै सकिएको थियो । उक्त सुनुवाइले उनी पदमुक्त हुने–नहुने टुङ्गो लगाउनेछ ।

गत डिसेम्बर ३ मा ’मार्शल ल’ लागु गर्न खोजेपछि उनीविरुद्ध व्यापक प्रदर्शन पनि भएको थियो ।
कट्टर परम्परावादी नेता यून सन् २०२२ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए । तर एप्रिलमा भएको संसदीय निर्वाचनमा विपक्षी पार्टीले फराकिलो जित हासिल गरेपछि उनका “हातखुट्टा बाँधिए जस्तै“ भएको थियो ।
त्यसयता उनको सरकारले चाहेका कानुनहरू पारित गर्न सकिरहेको छैन र उदारवादी विपक्षीहरूले पारित गरेका विधेयकहरूमा भिटो लगाउने अवस्थामा सीमित भएको छ ।
कैयौ भ्रष्टाचार प्रकरणमा नाम जोडिएका कारण उनको लोकप्रियता पनि खस्किएको छ ।

उनकी पत्नीलाई एउटा महँगो ब्र्यान्डको झोला उपहार लिएको र धितोपत्र बजारमा चलखेल गरेको आरोप लागेको थियो ।

यउल र उनीपछिका कार्यवाहक राष्ट्रपति दुवैलाई संसद्द्वारा महाभियोग लगाइएपछि दक्षिण कोरियामा राजनीतिक सङ्कट गहिरिएको छ ।
राष्ट्रपति र कार्यवाहक राष्ट्रपतिमाथि महाभियोग लागेपछि हाल अर्थमन्त्री चोई साङ–मोकलाई कार्यवाहक राष्ट्रपति बनाइएको छ ।
(एजेन्सी)