एजेन्सी ।भारतको महाराष्ट्रमा बुधवार भएको एक दुर्घटनामा रेलभित्र आगो लागेको हल्ला फैलिएपछि हामफाल्ने क्रममा अर्को रेलमा ठोक्किएर ज्यान गुमाएका १३ जना मध्ये चार जना नेपाली पनि रहेको अधिकारीहरूले बताएका छन्। रेलमा आगो लागेसँगै हाम फाल्दा अर्को रेलले किचेर उनीहरूको मृत्यु भएको पाचजना घाइते भएका अधिकारीहरूले बताएका छन् ।
देशको आर्थिक केन्द्र मुम्बईबाट करिब चार सय किलोमिटर टाढा दुर्घटना भएको जलगाँव जिल्लाका शीर्ष अधिकारी आयुष प्रसादले भने, ‘मानिसहरूलाई रेलले किचेको छ । ११ जनाको मृत्यु भएको छ र पाँच जनाको उपचार भइरहेको छ ।’
भारतीय रेलवेका प्रवक्तालाई उद्धृत गर्दै स्थानीय मिडियाले कसैले मुम्बई जाने रेलमा ‘अलार्म चेन’ तानेको र त्यसपछि ‘केही यात्रु रेलबाट ओर्लिएको’ बताएका छन् । ‘त्यसै बेला विपरीत दिशाबाट आउदै गरेको अर्को रेलले उनीहरूलाई किचेको हो’, प्रवक्ताले भने ।
हाल स्विटजरल्यान्डको डाभोसमा रहेका महाराष्ट्रका मुख्यमन्त्रीले मृतकका परिवारलाई ५ लाख रुपियाँ राहत दिने वाचा गरेका छन् । उनले घाइतेको उपचारका लागि सरकारले खर्च बेहोर्ने उल्लेख गरेका छन् ।