एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो)मा शान्ति स्थापनाका लागि खटिएका १३ जना सैनिकहरू विद्रोही एम २३ समूह सगको भिडन्तमा मारिएका छन् । पछिल्ला केहिदिन यता ती सैनिक मारिएका बताईएको छ ।
दक्षिण अफ्रिकाको सेनाले ज्यान गुमाउनेमा विद्रोहीहरूलाई देशको पूर्वमा अवस्थित गोमा सहरतर्फ प्रवेश गर्न रोक्ने प्रयासमा रहेका आफ्ना ९ जना सैनिक रहेको जनाएको छ । त्यसबाहेक मलावीका तीन र उरुग्वेका एक शान्ति सैनिक मारिएका छन् ।
नेपाली सेनाका प्रवक्ताले कङ्गोमा तैनाथ करिब ११ सय ५० नेपाली शान्ति सैनिक सुरक्षित रहेको र उनीहरू हाल युद्ध चर्किएको भनिएको स्थानभन्दा परै रहेको बताएको छ ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोले एम २३ विद्रोहीहरूलाई समर्थन गरेको आरोपमा छिमेकी रुवान्डासँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको छ ।
संयुक्त राष्ट्र सङ्घ र अन्यले पनि रुवान्डाले आफ्ना फौज र अस्त्रको प्रयोग गरेर द्वन्द्व चर्काएको आरोप लगाएका छन् ।
राष्ट्रसङ्घले अत्यावश्यकबाहेक सबै कर्मचारी गोमाबाट फिर्ता गर्ने भएको छ र त्यहाँको खराब अवस्थाबारे आइतवार राष्ट्रसङ्घको सुरक्षा परिषद्मा छलफल हुँदैछ। सोमवारका लागि तय भएको सो छलफल आइतवारका लागि सारिएको हो ।
फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोँले द्वन्द्व अन्त्य गर्न आह्वान गर्दै प्रजातान्त्रिक गणतन्त्र कङ्गो र रुवान्डाका नेताहरूसँग कुराकानी गरेको बताइरहदा लडाइ चर्किएपछि १० लाखभन्दा धेरै जनसंख्या रहेको गोमाबाट राष्ट्रसङ्घले अत्यावश्यकबाहेकका कर्मचारी फिर्ता गरिरहेको छ ।