नवदृष्टि संवाददाता
२,फागुन
काठमाडौं ः नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा ७ टिमले सहभागि हुने भएका छन् ।
दोस्रो संस्करण खेलेका स्पोर्टिङ इलाम र वीरगंज युनाइटेड तेस्रो संस्करणमा सहभागि नहुने भएपछि टिम संख्या सात पुगेको छ ।
लिगको पहिलो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गरेका भए दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए ।
पहिलो संस्करण खेलेको विराटनगरले दोस्रो संस्करण खेलेको थिएन। त्यसैले दोस्रो संस्करणमा तीन टिम थपिएर नौ टिमले खेलेका थिए। अब चैतमा हुने भनिएको तेस्रो संस्करणमा फेरि ७ टिमले मात्र खेल्ने भएका हुन् ।
आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले बिहीबार तेस्रो संस्करणको लागि अक्सन मिति र सहभागी टिमको नाम समेत सार्वजनिक गरेको हो ।
पहिलो संस्करणक खेलेका ६ टोली काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी सहित दोस्रो संस्करणमा थपिएको झापा एफसीले तेस्रो संस्करण खेल्नेछन् ।
तेस्रो संस्करणको एनएसएल आगामी मार्च २९ बाट सुरू हुने तेस्रो संस्करणका लागि फागुन १० गते अक्सन हुने आयोजकले जनाएको छ ।