यात्रुवाहक रेलमा आक्रमणगरी बन्धक बनाएकामध्ये कम्तीमा १५५ जना मुक्त

6
views

एजेन्सी÷पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरूले एउटा यात्रुवाहक रेलमा आक्रमणगरी बन्धक बनाएकामध्ये कम्तीमा १५५ जना मुक्त भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

सैन्य अधिकारीहरूका अनुसार सुरक्षाकर्मीहरूले गरेको कारबाहीमा कम्तीमा २७ लडाकुको मृत्यु भएको बताईएपनि सूचना स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।
बलोच लिबरेशन आर्मी (बीएलए) का लडाकुहरूले मङ्गलवार क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा गोली प्रहार गर्दै यात्रुहरूलाई आफ्नो नियन्त्रणमा लिएका थिए । उक्त रेलमा ४०० जनाभन्दा बढी यात्रु चढेको बताइएको छ ।
उक्त पृथक्तावादी समूहले रेलमा धावा बोल्नुअघि पहाडी भेगमा अवस्थित सिबी जिल्लामा रेलको पटरीमा आफूले बम आक्रमण गरेको र रेल नियन्त्रणमा लिएको दाबी गरेको थियो ।
उद्धार हुनेहरूमध्ये केही व्यक्ति घाइते छन् । उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
बन्धकहरूलाई मुक्त गर्न सुरक्षा कारबाही जारी छ । सो अभियानमा सयौ सुरक्षाकर्मीहरू परिचालित छन् । उनीहरूले हेलिकप्टर पनि प्रयोग गरेका छन् । रेलमा अब कति बन्धक बाकी छन् भन्ने स्पष्ट छैन । सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमले उक्त रेलबाट केही लडाकुहरू बाहिर गइसकेको विवरण प्रकाशित गरेका छन् ।