नवदृष्टि संवाददाता
३, चैत्र
काठमाडौ । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम केन्द्रीय महाधिवेशन यही चैत्र ८ र ९ गते काठमाडौमा आयोजना हुने भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा उद्घाटन गर्ने महाधिवेशनमा देशभरबाट एक हजार केन्द्रीय प्रतिनिधि सहभागी हुने आईतबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा बताईएको छ ।
महाधिवेशन प्रचार प्रसार उपसमितिका संयोजक माधव चौलागाईंका अनुसार ७७ वटै जिल्लाबाट गरी एक हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने छन् ।
हालसम्म ६ वटा प्रदेश, ७२ वटा जिल्लाका १६० संघीय निर्वाचन क्षेत्र ३२० प्रदेश सभा र अधिकांश स्थानीय तहको अधिवेशन उत्साहजनक रूपमा सम्पन्न भइसकेको चौलागाईंले जानकारी दिएका छन् ।
१० प्रकारका अपाङ्गता भएका व्यक्तिहरू जस्तै शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता, सुनाइ सम्बन्धी, श्रवणदृष्टिविहिन अपाङ्गता, मनोसामाजिक अपाङ्गता, हेमोफिलिया, अटिज्म, बैद्धिक अपाङ्गता र बहुअपाङ्गता तथा गाम्भीर्यताको आधारमा गरेको ४ प्रकारको वर्गीकरण जस्तै पूर्णअशक्तता, अतिशक्तता, मध्यम र सामान्य अपाङ्गता भएका व्यक्तिहरूको महाधिवेशनमा सहभागिता रहने बताईएको छ ।
महाधिवेशनमार्फत ३९ जना निर्वाचित १२ जना मनोनीत गरेर ५१ जनाको कार्यसमिति चयन हुनेछ । जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिला÷खुल्ला) दुई जना, महामन्त्री खुल्ला दुई जना, सदस्यहरू ३ महिला सहित खुल्ला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुल्ला गरी दुई जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने छ भने बाकी १२ जना महिला र समावेशी मिलाइ मनोनीत गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।