गोपाल जिसी
पर्वत, १८, चैत्र । खेतबारीमा रुखहरु मौलाएर उब्जनी हुन छाडेपछि फडानी अभियान थालेको फलेवास नगरपालिकाले खेतीयोग्य जमिनका रुखहरु धमाधम काटिएका छन् । घरवासदेखी ३० मिटर र खेतीयोग्य जमिनदेखि १० मिटरको मापदण्डमा रुखहरु काटिएपछि जमिनको मुहार नै फेरिएको छ ।
नगरपालिकाले खेतीयोग्य जमिनका रुख विरुवाहरु फडानी गर्ने निर्णय गरेपछि वडा कार्यालयको निर्देशनमा टोल विकास समितिमार्फत फडानी कार्य शुरु गरेको थियो ।
नगरपालिकाभित्र खेतीयोग्य जमिनका रुख बिरुवा तथा जंगल फडानी गरेपछि खेतीपातीमा उब्जनी बढ्नेसँगै बाँझो रहेको खेतको सदुपयोग हुने स्थानीयको भनाई छ ।
नगरपालिकाको निर्णय सम्बन्धित वडा कार्यालयको निर्देशन र टोल विकास समितिको सक्रियतामा फडानी कार्य गरेपछि घर तथा खेतीयिोग्य जमिन पहारिलो बनेको फलेवास नगरपालिका–३ का टोल विकास समितिका सचिव एवं एमाले जिल्ला कमिटीका सदस्य जगत लामिछानेले बताए ।
उनले भने ‘खेतीमा उत्पादन भन्दा रुखबिरुवा हुर्काउनेक्रम बढ्यो, जग्गा बाँझै राख्न थालियो, खेतीपाती गर्नेले पनि अर्काको रुखले असर पारेपछि खेती नै गर्न छाड्यो, यसलाई ध्यानमा राखि फडानी कार्य गर्दा बाँझा खेतहरुको समेत सदुपयोग हुने देखिएकोले रुखहरु काटियो ।’
खेतीबारीमा मौलाएका रुखहरु फडानीले खेत पहारिलो त बन्यो, बाँझो खेत उपयोगमा आउने देखियो, तर, फडानी अभियानमा जुटेको टोल विकास समिति आर्थिक समस्यामा परेको छ । नगरपालिकाले रुख विरुवा काट्न आर्थिक रकम उपलब्ध गराएन् ।
समितिका सचिव लामिछाने भन्छन् ‘एउटाको रुखले अर्काको जग्गालाई असर गरेको छ, अनावश्यक मौलाएका रुखहरु नकाटी भएन, रुख काटिने जग्गाधनीले पैसा दिदैन् रुख बिरुवाले असर गरेको जग्गाधनीका रुखहरु छैनन्, दुवैले पैसा नदिएपछि आर्थिक संकट पर्यो ।’
खेतीयोग्य जमिनमा अनावश्यक मौलाएका रुख जंगल फडानी अभियानमा जुटेको टोल विकास समिति आर्थिक संकटमा परेपछि स्थानीय सरकारले निर्णय मात्र गरेर नपुग्ने आर्थिक सहयोग उपलव्ध गराउनुपर्ने समितिका अध्यक्ष लोक प्रसाद लाम्गादेले बताए ।
बुटा काट्न आर्थिक संकट परेसँगै कहीँकतै बुटा काट्न नदिएको र अभियान मार्फत रुख काटिदिए आर्थिक रकम नदिने भन्न थालेकोले पनि आर्थिक संकट परेको लाम्गादेले बताए । उनले भने ‘रुख काट्न दिन्न भन्नेहरुपनि निति नियम र परिधिमा रहनुपर्ने हुन्छ, भने आर्थिक संकटमा स्थानीय सरकार जवाफदेही बन्नुपर्छ ।’