काठमाडौं, २८, असोज । हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार इजरायललाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचार अनुसार इजरायललाई हस्तान्तरण गरिएका चार जनाको शवमध्ये विपिन जोशीको नाम पनि समावेश भएको छ ।
हमासले बन्धक बनाएका २० जना जीवित इजरायलीलाई मुक्त गर्दै सोमबार अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायल सरकारलाई हस्तान्तरण गरेको थियो । हमास समूहले त्यसपछि मात्र बाँकी २८ जनाको शव हस्तान्तरण गरिने जनाउँदै आएको थियो । हमासले सोमबार नेपालका विपिन जोशीलगायत गाइ इलौज, यासी सारबी र डानिल पिरेजको शव हस्तान्तरण गरेको बिबिसीले उल्लेख गरेको छ ।
सन् २०२३ अक्टोबर ७ का दिन इजरायलको दक्षिण क्षेत्रमा पर्ने किबुज एलुमिममा हमासको आक्रमणपछि बन्दी बनाइएका २३ वर्षीय विपिन जोशी त्यहाँ आक्रमण हुनुभन्दा करिब एक महिनाअघि मात्र सिक र कमाउ कार्यक्रम अन्तर्गत कृषिसम्बन्धी अध्ययन गर्न त्यहाँ पुगेका थिए ।
यसअघि इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डितले विपिन जीवित रहेको प्रमाण फेला नपरेको जानकारी इजरायली सुरक्षा निकायले आफूहरू र विपिनका परिवारका सदस्यलाई गराएको बताएका थिए ।
२०८० भदौ अन्तिम साता विपिनसहित ४९ जना विद्यार्थी इजरायल पुगेका थिए । हमास समूहले २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने छ जना घाइते भएका थिए । सँगै रहेका घाइते साथीलाई जोगाउन लागेका विपिनलाई भने हमासले बन्दी बनाएर लगेको भिडियो फुटेजमा देखिएको थियो ।
नेपालका लागि इजरायलका पूर्वराजदूत हनान गोदरले पनि जोशी जीवित नरहेको सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जालका लेखेका छन्, “विपीन जोशी अब हामीमाझ रहनुभएन । दुई वर्षको आशा अब समाप्त भएको छ ।”
उनको शव फरेन्सिक जाँचका लागि तेल अविभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा पुर्याइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।