नवदृष्टि संवाददाता चरीकोट,११ वैसाख । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम २०७५ सालको असार महिनाभित्रमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आयोजनास्थल लामाबगर पुग्नु भएका घिसिङले आइतबार आयोजनाको स्थलगत निरीक्षण गर्दै एकीकृत तालिका बनाएर काम गरी २०७५ को असारभित्र पूरा गर्न निर्देशन दिनुभएको हो ।
राष्ट्रिय गौरवको आयोजना भएकाले काम तीन चरणमा थाल्न र दुई सिफ्टको कामलाई तीन सिफ्टमा विस्तार गर्न आवश्यक वातावरण बनाउन प्राधिकरण र प्रवद्र्धक तयार रहेको उहाँको भनाइ छ । घिसिङले आयोजनामा आइपर्ने समस्या समधान गर्न सम्बन्धित निकायसगँ आफूले कुरा गर्ने बताउँदै ढुक्कसँग आयोजनाको काम गर्न सबै निकायलाई आग्रह गर्नु भएको छ । उहाँले तामाकोसी आयोजनालाई नै लक्षित गरी लामाबगरमा बोर्ड बैठक राख्नुभयो । चार सय ५६ मेगावाटको यो जलविद्युत् आयोजनाको पहिलो युनिट विसं २०७५ को असारसम्म सञ्चालनमा आउनेछ । पुसबाट यसले पूर्णक्षमतामै विद्युत् उत्पादन थाल्नेछ ।
८८ प्रतिशत सम्पन्न
दोलखाको लामाबगरमा निर्माण भइरहेको आयोजनाको काम ८८ प्रतिशत सम्पन्न भइसकेको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको समस्या पहिचान गरी निर्धारित समयमा सम्पन्न गर्न भन्दै सञ्चालक समिति आयोजनास्थलमा पुगेको छ । तामाकोसी जलविद्युत् कम्पनीका अध्यक्ष समेत रहनुभएका घिसिङले लक्षित समय अगावै तामाकोसी सञ्चालनमा ल्याउन के, कसले गर्नुपर्ने भन्नेबारे परार्मशदता, ठेकेदार र आयोजनाका अधिकारीसँग सुझाव माग्नु भएको छ ।
आयोजनास्थलमा नेपाल टेलिकम, बिमा संस्थान, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषका प्रमुख तथा प्रतिनिधि समेत सहभागी थिए । आयोजनामा यी संस्थाले लगानी गरेका छन् । आयोजनास्थलमा पुगेका घिसिङलाई आयोजनाका प्रवक्ता डा।गणेश न्यौपानेले सामान ढुवानीका लागि समस्या भएको बताउनुभयो ।
उहाँले वर्षात् अघि नै आयोजनाको लट २ को हाइड्रोमेकानिकल र लट ३ को इलेक्ट्रोमेकानिकलको सामान ल्याइसक्नुपर्नेमा सिन्धुपाल्चोक जिल्लाको खाडीचौउरदेखि चरीकोटसम्म धेरै गाह्रो हुने गरेको बताउनुभयो । यो सडक खण्डमा गाडी फसेर सातासम्म अलपत्र पर्ने गरेको छ।
आयोजनामा हालसम्म ३३ अर्ब ३२ करोड रुपैयाँ लगानी भइसकेको छ । आयोजनाको विनियोजित बजेट ३५ अर्ब २९ करोड रुपैयाँ हो । भूकम्प र नाकाबन्दीका कारण २०७२ सालको करिब पूरै अवधिमा आयोजनाको निर्माण कार्यमा प्रतिकूल असर परेको छ । हालसम्म हेडवक्र्स् कंक्रिट कार्य ८६.५५ प्रतिशत, मुख्य सुरुङ खन्ने कार्य ८५.८५ प्रतिशत, टेलरेस सुरुङ खन्ने कार्य सत्प्रतिशत, अडिटलगायत अन्य सुरुङ खन्ने कार्य ८५.३५ प्रतिशत, विद्युतगृह र ट्रान्सफर्मर कार्य सत्प्रतिशत र विद्युतगृह र ट्रान्स्फर्मर क्याभर्न कंक्रिट कार्य ९४.३५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।