नवदृष्टि संवाददाता
बेनी, २७ चैत्र । मुस्ताङ, मनाङ, कास्की, म्याग्दी र लमजुङ जिल्ला समेटिएको अन्नपूर्ण पदमार्ग क्षेत्रमा केहीवर्ष यता सडक विस्तार तीव्र बनेको छ । सडक विस्तारसँगै सवारीसाधनको सहज पहुँचका कारण अन्नपूर्ण संरक्षण क्षेत्रमा अवैध चोरी निकासी बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पाँचै जिल्लामा विस्तार भएको सडकका कारण संरक्षण क्षेत्रभित्र चोरी शिकारीका घटना बढ्दै गएको जनाएको छ ।
एक्यापले साविकका हरेक गाउँ विकास समितिमा संरक्षण व्यवस्थापन समिति गठन गरे पनि पर्यटक, पथ प्रर्दशक र कतिपय सवालमा स्थानीय नै यस्ता गतिविधिमा संलग्न हुने गरेको पाइएको छ ।
एक्यापले पाँच जिल्लाका ५७ वटा साविकका गाविसलाई समेटेको छ । अन्नपूर्ण रेन्जका दर्जनभन्दा बढी हिम शृंखला, घना वनजंगल, त्यसमा पाइने हिउँ चितुवादेखि थुप्रै वन्यजन्तु, डाँफे, मुनाल र विभिन्न किसिमका चराचुरुङ्गी, मुस्ताङमा पाइने तिब्बती कला संस्कृति, प्राकृतिक सुन्दरता नै पदमार्गका आकर्षण हुन् ।
प्रसिद्ध मुक्तिनाथ मन्दिर, लोमान्थाङ, पुनहिल, घान्द्रुक, थोराङला पास जस्ता पर्यटकीय गन्तव्य पनि एक्यापभित्रै समावेश छ । सडक विस्तार र पहुँचले उच्च भेगमा पाइने वन्यजन्तुदेखि चराचुरुङ्गीको अवैध शिकार हुने गरेको एक्यापका संरक्षण अधिकृत विदुर कुइँकेलले जानकारी दिए । ‘चोरी सिकारी नियन्त्रण हाम्रो मुख्य चुनौती बनेको छ । संरक्षणभित्र दुर्लभ किसिमका वन्यजन्तु र मृग प्रशस्त पाइन्छ’, उनले भने, ‘हिमालको फेदीसम्म अहिले पर्यटकको पहुँच सहज भएको छ, कसरी व्यवस्थित बनाउने भन्ने विषय छलफलकै क्रममा छ ।’
एक्यापका अनुसार म्याग्दी, मुस्ताङ, कास्की र लमजुङ क्षेत्रका एक्यापमा समावेश साविकका सबै गाविसमा सडक सञ्जालको पहुँच पुगेको छ । सडक विस्तारले पर्यटकीय गन्तव्य बाहेक पदमार्ग आसपासका क्षेत्रमा सञ्चालित साना तथा ठूला होटेल पूर्ण रूपमा विस्थापित भएका छन् । यो समस्या म्याग्दी र मुस्ताङमा बढी रहेको एक्यापले जनाएको छ ।
एक्यापका प्रशासन अधिकृत आनन्द सुवेदीले चोरी शिकारका घटना सार्वजनिक हुन थालेपछि स्थानीय संरक्षण समिति, प्रहरी र पर्यटक प्रहरीसँग सहकार्य गरेर नियन्त्रणको उपाय खोज्न थालिएको बताए । ‘विभिन्न जिल्लाका नजिकको प्रहरी युनिटसँग त्यस्ता गतिविधि नियन्त्रणमा लागिपरेका छौं, स्थानीयको सहयोग नभएसम्म त्यो सम्भव हुँदैन’,उनले भने ।