‘‘दावा लामालाई मैले गोली हान्न लगाएको हुँ’’

676
views

नवदृष्टि संवाददाता
काठमाडौं ३० चैत । घटनास्थल अवलोकनका लागि कार्यालयको गाडीमा जाँदै गरेका एसएसपी छविलाल जोशीको मोबाइलमा ९ः४० मा कल आयो । नम्बर देखिएको थिएन, प्राइभेट लेखिएको थियो । उनले फोन उठाए । ‘म हङकङबाट लोप्साई राई बोलेको, दावा लामालाई मैले गोली हान्न लगाएको हुँ ।’ घटनाको जिम्मेवारी लिन फोन आउँदा उनी चकित परे ।
किन गोली हानेको भनेर सोध्दा जबाफ आयो, ‘उसले मलाई यति धेरै दुःख दिएको छ, त्यो सुन्नुभयो भने तपाईं रुनुहुन्छ ।’ कुराकानीको बिट मार्दै जोशीले भने, ‘घटनामा संलग्न जहाँ भए पनि जोगिन सक्दैन, म रुने हैन, तेरो रुने दिने आयो अब ।’ तीन मिनेट २० सेकेन्डमा कुराकानी टुंगियो । प्रहरीले अनुसन्धान अलमल्याउन फोन गरेर घटनाको जिम्मेवारी लिएको निष्कर्ष निकालेको छ । आपराधिक घटनामा फोन गरेर जिम्मेवारी लिएको यो दोस्रो पटक हो । यसअघि बुटवलमा गोली हानेर युवा संघ नेपालका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या भएपछि मनोज पुनले फोन गरी घटनाको जिम्मेवारी लिएका थिए ।
‘म हङकङबाट भन्दै घटनाको जिम्मेवारी लिन फोन आएको थियो, तर कसले गोली हानेको हो यकिन भइसकेको छैन,’ एसएसपी जोशीले भने ‘केही व्यक्ति शंकाको घेरामा छन्।’ अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार गराइरहेका दावाले सुटरलाई आफूले नचिनेको तर प्रहरीले नै गोली हानेको दाबी गरेका थिए ।
गोली हालेको प्रत्यक्ष दृश्य फेला प¥यो, सुटर पहिचान भएन । घटनाबारे प्रहरीले फेला पारेको क्लोज सर्किट टेलिभिजनको दृश्यमा हाफ पाइन्ट र चप्पलमा रहेका दावा ब्याग बोकेर दक्षिणतिरको बाटो हुँदै पार्टी प्यालेस प्रवेश गरेको देखिन्छ ।उनले बाटो क्रस गरेलगत्तै दक्षिणतिरबाटैसेतो मास्क लगाएका र झोला बोकेका अर्का व्यक्ति उनको पछाडि देखिन्छन् । दावा ढोका नजिक पुगेपछि सुटर हतारहतार नजिक आउँछन् र दावा गेटभित्र प्रवेश गरेलगत्तै पेस्तोल निकालेर फायर गर्छन् ।
पहिलो गोली उनको गोडामा लागेपछि दावाले पछाडि फर्केर हेर्दा हातमा बन्दुक बोकेका सुटर देख्छन् । सुटरले लगातार दुई राउन्ड गोली हानेपछि उनी पार्टी प्यालेसको कम्पाउन्डमा ढल्छन् र सुटर पश्चिमतिर भाग्छन् ।पेस्तोल निकाल्ने, समात्ने शैली र सुटरको शारीरिक बनोट हेर्दा उनी अनुभवी सुटर रहेको प्रहरीको निष्कर्ष छ । लामो समय दावाको दैनिकी निगरानी गरेर गोली हान्ने योजना बनेको अनुमान प्रहरीले गरेको छ । पहिलो गोली दावाको देब्रे खुट्टामा लागेको थियो । दुई राउन्ड गोली कम्मरमाथि लागेको थियो ।
पहिलो गोली शरीरको माथिल्लो भागमा हान्दा छलेर दावा भाग्नसक्ने भन्दै सुटरले गोडामा गोली हानेर शरीरका अन्य भागमा हानेको देखिन्छ ।
गौरीघाटस्थित बागमती नदी किनारामा रहेको दिव्य पार्टी प्यालेसमा गोली लागेर ‘कहलिएका गुन्डा’ दावा लामा घाइते भएको सूचना आएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशी र महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्य घटनास्थलतर्फ गएका थिए ।
मंगलबार बिहान ९ः२० मा उनले क्लब अगाडि गाडी रोकेर पार्टी प्यालेसको गेटभित्र प्रवेश गर्ने्बित्तिकै उनीमाथि गोली प्रहार भएको थियो । दावा उपत्यकाको गुन्डागर्दीमा संलग्न व्यक्ति हुन् । प्रहरीले हालै सार्वजनिक गरेको गुन्डागर्दीको सूचीमा उनको नाममा बी ग्रेडमा छ । काभ्रेली समूहका सदस्य रहेका उनी गणेश लामा समूहमा थिए । पछि उनी कुमार श्रेष्ठ ‘घैंटे’ को समूहमा गएका थिए । प्रहरी इन्काउन्टरमा घंैटे मारिएपछि उनी आफैं समूह परिचालन गर्दै आएका थिए ।