गोर्खाल्याण्ड आन्दोलन दबाउन पहाडमा सेना परिचालन, तीन आन्दोलनकारी मारिए

1253
views

दार्जिलिङ, । दार्जिलिङ लगायतका पहाडी क्षेत्रका स्कुलमा पश्चिम बंगाल सरकारले बंगाली भाषा अनिर्वाय गरेपछि सुरु भएको आन्दोलन उत्कर्षमा पुगेको छ । दार्जिलिङमा जबरजस्ती बंगाली भाषा लाद्ने सरकारको निर्णयको विरोध मात्रै नभएर छुट्टै गोर्खाल्याण्ड हुनुपर्ने माग बिऊँत्याइएको छ । छुट्टै गोर्खाल्याण्ड माग गर्दै गोर्खा जनमुक्ति मोर्चा (गोजमो)को नेतृत्वमा जारी करिब एक महिना लामो आन्दोलन शनिबार झन् उग्र बनेको छ । शुक्रबार गोर्खाल्याण्ड समर्थक टाँसी भोटिएको मृत्यृ भएपछि शनिबार त्यसविरुद्ध दार्जिलिङमा ठूला प्रदर्शन भएका छन् । प्रदर्शनकारी पनि उत्तेजक बन्दै तोडफोड र आगजनीमा उत्रिएका छन् । तनावपूर्ण स्थितिबीच प्रहरीले गोली चलाउँदा शनिबार थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सुरज सुन्दास र समीर गुरुङ रहेको भारतीय संचार माध्यमले जनाएका छन् ।
११ कम्पनीे अर्ध सैनिक बल परिचालन
दार्जिलिङमा थप हिंसा बढ्न र उत्तेजित नहोस् भन्दै हिंसा भड्किए पछिको तनाव थेग्न सेना परिचालन गरिएको छ । त्यहाँ कम्तीमा पनि ८६ जना सेना परिचालन गरिएको जनाइएको छ । केन्द्रीय गहृमन्त्रीको स्रोत अनुसार केन्द्र सरकारले अहिले दार्जिलिङमा कम्तिमा पनि ११ कम्पनीे अर्ध सैनिक बल पठाएको छ ।आन्दोलन उग्र बन्दै गईरहेका बेला आन्दोलनकारीहरुले त्यहाँको एक प्रहरी चौकी र पेट्रोल पम्पमा आगजानी गरेका छन् । त्यस्तै त्यस्तै पश्चिम बंगालकी मुख्य मन्त्री ममता बेनर्जीको पार्टी तृणमूल कांग्रेसको पार्टी कार्यालय समेत जलाएपछि आन्दोलन थप उत्कर्षमा पुगेको छ ।
बेनर्जीसँग वार्ताको ढोका बन्द
यसैबीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी केही लचक हुन बाध्य बनेकी छिन । शनिबारको घटनापछि उनले आन्दोलनको नेतृत्व गरिरहेको गोर्खा जनमुक्ति मोर्चालाई वार्तामा आउन आग्रह गरेकी छिन्। उनले घटनाको न्यायिक छानबिन गर्ने समेत प्रतिबद्धता जनाएकी छिन् । ‘पहाडी पार्टीसँग सरकार वार्ता गर्न तयार छ, तर त्यहाँ शान्ति हुनुपर्छ । पहाडी जनताको चाहानाअनुसार सकारले प्रयाप्त संयम अपनाएको छ’, शनिबार साँझ एक पत्रकार सम्मेलनमा बनर्जीले भनिन्, ‘यदि अर्को १०–१५ दिनमा शान्ति फर्किन्छ भने पाहाडी पार्टीलाई म वार्तामा बोलाउन सक्छु तर पहिले शान्ति फर्काऊ ।’ उनको यो प्रस्ताव र आग्रहलाई गोर्खा जनमुक्ति मोर्चाले ठाडै अस्वीकार गरेको छ । मोर्चाका सहायक महासचिव विनय तामाङका अनुसार केन्द्र सरकारसँग मात्रै बार्ता गर्ने बता ए। ‘हामी ममता बेनर्जीसँग कुनै वार्ता गर्न जानेछैनौं । ममता बेनर्जी र पश्चिम बंगाल सरकारसँगको वार्ता सधैको लागि बन्द भयो । यदि केन्द्रले गोर्खाल्याण्डको लागि वार्तामा बोलाए हामी जानेछौं’, तामाङले भने ।
हर्कबहादुर र पाख्रिन दिल्ली जाने
छुट्टै गोर्खाल्याण्डको मागलाई लिएर आन्दोलनकारीले दिल्लीमा समेत प्रदर्शन गरिरहेका छन्। शुक्रबारको घटनालाई लिएर आन्दोलनकारीले हिजो केन्द्रीय गृहमन्त्री राजनाथ सिंह निवास नजिकै प्रदर्शन समेत गरेका हुन्। प्रदर्शन गर्ने ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ। यसैबीच आन्दोलनकारीलाई थप उत्साहित पार्न आइतबार डा. हर्कबहादुर क्षेत्री र र दावा पाख्रिन दिल्ली जाने भएका छन् ।