पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी पत्नी उपनिर्वाचनमा ‘विजयी’

1765
views

असोज, २ गते । अदालतबाट गत जुलाइमा पद सम्हाल्न अयोग्य ठहर गरिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी श्रीमती लहोरको उपनिर्वाचनमा ’विजयी’ भएकी छन् । अनौपचारिक नतिजा अनुसार कुलसूम नवाजले आफ्ना निकटतम प्रतिद्वन्द्वीले भन्दा करिब १५ हजार बढी मत ल्याएकी छन् ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार उनले ६१, २५४ मत प्राप्त गरेकी छन् । भ्रष्टाचारसम्बन्धी मुद्दामा हालसालै पाकिस्तानको सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सार्वजनिक पद धारण गर्न योग्य नभएको ठहर गरेपछि उनले राजीनामा दिएका थिए । पाकिस्तानका प्रधानमन्त्री शरिफ अयोग्य घोषित
उनको राजीनामापछि उक्त निर्वाचन क्षेत्रमा उपचुनाव भएको थियो । सत्तारुढ पीएमएलएन पार्टीले भनेको छ चुनावी नतिजाले नवाज शरिफलाई राजनीतिक षड्यन्त्रको शिकार बनाइएको कुरामा जनतालाई विश्वास भएको पुष्टि गरेको छ । कुलसूम हाल लण्डनमा क्यान्सरको उपचार गराइरहेकी छन् । कुलसूमको अनुपस्थितिमा उनकी छोरी मरियमले चुनावी प्रचार र प्रसार गरेकी थिइन् ।
अनौपचारिक नतिजापछि समर्थकहरुलाई सम्बोधन गर्दै मरियमले भनिन्, “यो साधारण जित होइन । तपाईँहरुले चुनावी प्रतिस्पर्धामा रहेकालाई मात्रै पराजित गर्नुभएको छैन बरु पर्दा पछाडि रहेका मानिसहरुलाई पनि हराउनुभएको छ ।’ चुनावी नतिजाले आफ्ना बुवालाई अयोग्य ठहर गर्ने अदालतको आदेशलाई जनताले अस्वीकार गरेको देखाएको उनले टिप्पणी गरिन् ।
लहोरको उपनिर्वाचनलाई सत्तारुढ र विपक्षी दलले नवाज शरिफलाई अयोग्य ठहर गर्ने सर्वोच्च अदालतको आदेशमाथिको जनमत संग्रहका रुपमा हेरेका थिए । आइतवार भएको चुनावमा करिब सवा तीन लाख मतदाताहरुले सहभागिता जनाएका थिए । विविसी