कोरिडोरमा मनलाग्दो भाडा असुल्छन् सवारी चालक

789
views

महेन्द्र जिसी  राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर सञ्चालनमा आएपछि सदरमुकाम बाग्लुङ र विकट दक्षिणी बाग्लुङको सम्बन्ध निकै नजिक भएको छ ।

सर्वसाधारणले सडकयात्राको सुविद्या पाएका छन् । तर, सवारी भाडाले भने सर्वसाधारणको पुर्पुरो सेकेको छ । भाडादर निर्धारण नहुँदा मनलाग्दो भाडा असुल्ने गरेको सर्वसाधारणले गुनासो व्यक्त गरेका छन् ।  सदरमुकाम बागलुङ बजारबाट झन्डै साँढे दुई घण्टामा पुग्न सकिने जैमिनी नगरपालिका—८ छिस्तीसम्मकै पाँचसय भन्दा बढी भाडा असुल्ने गरेको सर्वसाधारणको भनाई छ ।

धौलागिरी अञ्चल बस व्यवसायी सञ्चालक समितिले विना भाडा दर बागलुङ—बेलवगर खण्डमा यातायात सेवा सञ्चालन गरेपछि यात्रु ठगिने क्रम बढेको छ । ठूला चाडबाडको संघारमा सञ्चालनमा आएको उक्त सडकखण्डमा सवारी मालिकहरुले आवश्यकता भन्दा बढि भाडा लिने गरेको बाग्लुङ छिस्तिका एक बहादुर जिसीले भनाई छ ।करिडोर सडकले छोटिएपनि मनलाग्दो भाडाले सर्वसाधारण मर्कामा परेको जैदी कुईदाङका कमल जिसीले बताए ।

कालीगण्डकी कोरिडोर खण्डमा अस्थायी रुट कायम नभएको र पिकअप जीप व्यवसायीहरुका कारण यात्रुहरुले बढि भाडा तिर्नुपरेको जिल्ला ट्राफिक प्रहरी नायव निरीक्षक छबबहादुर घर्तीको भनाई छ । घर्तिले सेनाले निर्माण गरेको सडकमा अस्थायी रुट कायम नभएका कारण कार्वाही गर्न पनि असहज भएको बताए ।

सो सडकमा उठाउने भाडादरका विषयमा विहान र आवश्यक परेको बेला दिउँसोको रुटमा २ सय ७५ कायम गरेको सञ्चालक समितिका क्यु इन्चार्ज रामप्रसाद अधिकारीको भनाई छ । सवारी मालिकहरुले भने भाडादर कायम नभएको, कच्ची र जोखिमपूर्ण सडक भएकाले भाडादर बढि लिनु पर्ने बाद्यता रहेको बताए ।