दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गरिँदै

पहिलो चरणमा हुने ३२ मध्ये २१ जिल्लाको मतपत्र समेत छाप्न पठाइसकियो

710
views

काठमाडौँ, कार्तिक १६, २०७४
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रत्यक्षतर्फका उम्मेदवारी दर्ता सुरु भएको छ । बिहीबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । उक्त समयमा राजनैतिक दलका उम्मेदवारले जिल्लामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराउँदैछन् । दोस्रो चरणमा तराई र पहाडका ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनले लोकतान्त्रिक र संघीय गणतन्त्रलाई संस्थागत गर्ने भन्दै मनोनयनमा उत्साहजनक सहभागिताका लागि आह्वान गरेका छन् ।दोस्रो चरणअन्तर्गत पूर्वको इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनहँु, कास्की, स्याङ्जा, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान बाँके र बर्दिया, सल्यान, सुर्खेत र दैलेख, कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र पश्चिमको डोटी जिल्लामा मतदान हुने कार्यक्रम छ ।

निर्वाचन आयोगले मननोनयन दर्ताका लागि सबै तयारी सकिएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दलहरूबाट र स्वतन्त्र उम्मेदवार हुन चाहनेलाई शान्तिपूर्ण एवं उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गर्न आह्वान गरेका छन् । आयोगमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले उम्मेदवारी मनोनयनका लागि उच्च सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिइएको बताए ।
‘राजनीतिक दलका पार्टी प्रमुख तथा उच्च पदाधिकारीहरू दोस्रो चरणमै उम्मेदवारी दिँदै हुनुहुन्छ,। ‘सुरक्षा निकायलाई त्यसैअनुसारको सुरक्षा व्यवस्था मिलाउन र सतर्कता अपनाउन भनिएको छ ।’ कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापालगायत शीर्ष नेता र दोस्रो तहका अधिकांश नेताहरू दोस्रो चरणको निर्वाचनमा उम्मेदवारी दिँदै छन् ।
दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुनेछ ।
प्रतिनिधिसभाको कुल १ सय ६५ मध्ये ३७ र प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुँदैछ । ती क्षेत्रका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता भएको थियो । पहिलो चरणमा उच्च हिमाली तथा पहाडी जिल्लामा निर्वाचन हुनेछ ।
सदरमुकाममा खोलिएको मुख्य निर्वाचन अधिकृत तथा क्षेत्रअनुसारको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारी दर्तासँगै उम्मेदवारहरूले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले आचारसंहिताको पूर्ण पालना सबैबाट हुने विश्वास आयोगले लिएको बताए ।

पत्रकार सम्मेलनमा यादवले निर्वाचनलाई लिएर कुनै प्रकारको द्विविधा नपाल्न आग्रह गरे । उनले निर्वाचन तयारीलाई गति दिइएको भन्दै प्रत्यक्षतर्फको दुईवटा मतपत्र छाप्ने निर्णयअनुसार मतपत्र छपाइ कार्य जारी रहेको बताए । उनले पहिलो चरणमा निर्वाचन हुने ३२ मध्ये २१ जिल्लाको मतपत्र छाप्न पठाइसकिएको र कात्तिक २० भित्र ती सबै जिल्लाका मतपत्र छापिइसक्ने जानकारी दिए । त्यसपछि दोस्रो चरणका लागि मतपत्र छापिने छन् ।
प्रतिनिधिसभा सदस्यका लागि सेतो कागजमा हरियो रंगमा र प्रदेशसभाका लागि कालो मसीमा निर्वाचन चिह्नहरू रहने गरी मतपत्रको डिजाइन गरिएको छ । सर्वोच्च अदालतले दुवै सभाको अलग–अलग मतपत्र छाप्न आदेश गरेपछि कात्तिक १२ मा आयोगले सोहीअनुसारको निर्णय गरी काम बढाएको हो ।
‘सर्वोच्चको आदेशअनुसार अलग–अलग पानामा मतपत्रको व्यवस्था गर्दा आवश्यक पर्ने मतपेटिका, स्वस्तिक छापलगायत सामग्रीको छोटो समयमै व्यवस्थापनको प्रक्रिया सुरु भइसकेको छ,’ उनले भने, ‘आवश्यक नियमावली, निर्दे्शिका, कार्य्विधि तथा मतदाता शिक्षा सामग्रीको परिमार्जनको कामसमेत भइरहेको छ ।’
समानुपातिक निर्वाचन प्रणालीतर्फको १ करोड ७४ लाख मतपत्र छापिसकिएको छ । समानुपातिक प्रणालीका लागि राजनीतिक दलहरूले असोज २९ मा बुझाएको बन्दसूचीमा आवश्यक संशोधन कात्तिक १२ भित्र गरेर अन्तिम नामावली बुझाइसकेका छन् ।