अस्थिरताको अन्त्यका लागि वाम गठबन्धनलाई मत–ढकाल

1501
views

मुलुक प्रतिनीधि सभा र प्रदेशसभाको निर्वाचनमा होमिएको छ । उम्मेदवारहरु आ–आफ्ना एजेण्डा सहित चुनावी सरगर्मीमा जुटिरहेका बेला नेकपा एमालेका केन्द्रिय सदस्य एवं २०७० का प्रत्यक्ष निर्वाचित सभासद् तथा रसुवाबाट संघीय प्रतिनिधि सभाका उम्मेद्वार जनार्दन ढकालसँगको कुराकानी।

तपाँइको क्षेत्रमा चुनावी सरगर्मी कत्तिको बढीरहेको छ ?

हाम्रो क्षेत्रमा त्यती धेरै चुनावी सरगर्मी बढीसकेको छैन । सबै राजनीतिक दलहरु आ–आफ्नो अभियानमा आफ्नै ढंगले लागेको अवस्था छ । कार्यतालिका बनाएर हामी पनि हिँडीरहेका छौं । हाम्रो क्षेत्र भुगोलका हिसावले अलि विकट भएको हुनाले एक महिना पुरै हिँड्नुपर्ने हुन्छ । कतिपय ठाँउहरुमा बाटोहरु पुगेका छैनन् । हिँड्ने अभियानहरु सुरु भएको छ । तर धेरै नै ग्राउण्ड अहिले तातिसकेको छैन ।

तपाँइको विजयको आधारहरु के के हुन् ?

मुख्य आधार त संविधान निर्माणमा हामीले खेलेको भूमिका नै हो । हाम्रो पहिलो प्राथमिकता नै संविधान निर्माण थियो । त्यो एउटा प्रमुख आधार छ भने त्यसभन्दा पछाडि गरेका विकास निर्माण लगायतका कामहरु र जनताको जनजिविकाको सवालमा खेलेको भुमिकाहरु नै प्रमुख आधार हुन् । अहिलेसम्म रसुवामा विकास हुन सकेका थिएनन् । अहिले हामीले प्रयाशहरु सुरु गरेका छौं । राम्रो कामहरु भएका छन् । त्यह्ी नै आधार हो । अहिले संगठनको अवस्था पनि अत्यन्त मजवुद र राम्रो छ ।

रसुवामा देशव्यापी झैं वाम तालमेलको प्रभाव कस्तो परेको छ ?

वाम तालमेलका कारण हामी संयुक्त रुपमा कार्यक्रमहरु गरिरहेका छौं । मनोनयन दर्ता कार्यक्रम पनि हामीले संयुक्त रुपमा नै गयौं । वातावरण एकदमै उत्साहमय छ । केही केही सानोतिनो मतभेद भएपनि मंसिर १० गतेसम्म त्यहाँ देखिएका मतभेदहरु सबै अन्त्य हुन्छ । हामी त्यसलाई अन्त्य गरेर एकढिक्का भएर अघि बढ्ने निर्णय पनि गरेका छौं । तल तल सम्म त्यो सन्देश गइसकेको पनि छ । त्यसैले कुनै अफ्ठ्यारो छैन ।

यसअघि पनि जनप्रतिनिधी हुनुहुन्थ्यो, त्यो बेला गर्व गर्न लायक के के काम गर्नुभयो ?

मुख्यगरी रसुवाको समृद्धिको निम्ति रसुवागढी नाका व्यवस्थित गर्ने काम र त्यसलाई दोस्रो अन्तराष्टिय ठुलो नाका बनाउनका लागि पहल गरियो । त्यहाँ सम्म पुग्न पहुँच मार्ग निर्माण गर्नका लागि डबल लेनको लागि बजेटको व्यवस्थापन गर्ने काममा लागियो । यार्सा जाने बाटो अहिलेसम्म सबैभन्दा विकट हो । त्यो बाटो निर्माण गरियो । यस लगायत धेरै ठाँउहरुका सडक सञ्जालहरु निर्माण गर्नलाई हामीले प्रमुख भुमिका खेलेका छौं । मठ मन्दीर भूकम्पपछिका पुनािर्माण र भूकम्पमा तत्कालिन खोज र उद्धारमा महत्वपूर्ण भूमिका खेलेको कारणले गर्दा हाम्रो जित सुनिश्चीत जस्तै छ ।

तपाँइको भावी योजना के के छ ?

हामीले रसुवा जिल्लामा सबै हिसावले संभावना बोकेको प्राकृतिक स्रोत साधन भएको जिल्ला हो । यहाँ पर्यटकिय हिसावले पनि संभावना छ भने अन्तराष्ट्रिय नाकाको हिसावले पनि संभावना छ । यस्तै जलविद्युत विकासको हिसावले पनि संभावना बोकेर र जडिबुटीको हिसावले पनि संभावना बोकेको जिल्लामा पर्दछ । प्रमुख त रसुवागढी नाकालाई व्यवस्थित गर्ने, सुख्खा बन्दरगाह निर्माणमा पहल गर्ने, अहिले निर्माण गरेका झण्डै ८७ किलोमिटर बाटो छन् तिनलाई स्तरोन्नती र पिच गर्ने काममा लाग्ने योजना छ । यसैगी पर्यटनको प्रवद्धन गर्ने कुराहरुमा लाग्ने, त्यस्तै नाकामा अहिले चोरी र अवैध कारोवारहरु जुन भइरहेको छ त्यसलाई अझै व्यवस्थित गर्नका लागि पहल गर्ने र जतिपनि हाम्रा दक्ष जनशक्तिहरु विदेशिएका छन्, ति जनशक्तिहरुलाई जिल्ला भित्रै रोजगारीको बाटो सिर्जना गर्ने हाम्रो योजना छ । दोस्रो अन्तराष्ट्रिय ठुलो नाका, जलविद्युत आयोजना लगायतका स्थानहरुमा व्यापक रोजगारीको संभावना खोजेर गाँउका जनशक्ति विदेश पलायन हुनबाट रोक्ने हाम्रो लक्ष्य छ ।

२०७० सालको कठिन अवस्थामा पनि चुनाव जितेको स्थिति हो, अहिले जितको सुनिश्चीतता के छ ?

हामी वाम गठवन्धन भइसकेपछि अहिले एकदमै अग्रपंतिमा छौं । पहिलो कुरा त हाम्रो जनासंगको सम्वन्ध नै हाम्रो जितको पहिलो आधार हो । जनतासंग हामीले अटुट रुपमा सम्पर्क समन्वय टुटाएका छैनौं । विकास निर्माणको कामहरुलाई पनि हामीले तिव्रता दिएका छौं । जनताको यावत सानातिना समस्याहरुमा पनि हामी संगसंगैं भएका कारणले हाम्रो जितको बलियो आधार छ । पहिलाको आधार भन्दा पनि अहिले फेरी व्यापक वाम गठवन्धनले नयाँ तरंग आएको छ । माओवादी केन्द्र र हामीबीच गठवन्धन भइसकेपछि हामी करिव १५ सय मतको अग्रतामा छौं । स्थान्ीय चुनावमा काँग्रेस र माओवादी मिलेको थियो । अहिले कतिपय अनलाइनहरुले गाँउ पालिकाका अध्यक्षहरुले पाएको मत जोडेर हामी कमजोर देखाइरहेको छ । त्यो यर्थाथपरक छैन । कुनै गाउँपालिकामा माओवादी र काँग्रेस त कुनै गाउँपालिकामा नयाँ शक्ति र काँग्रेस मिलेका थिए । त्यो जोड्दाखेरी केही मत अगाडि देखिएको हो । तर माओवादी अब हामीसंग आइसकेपछि त्यो मत घट्नुपर्छ । त्यो घट्दाखेरी हामी १२ देखि १५ सय मतले अग्रभागमा देखिन्छौं ।

आम मतदातालाइ केही भन्नु छ ?

हामी यो एउटा महान अभियानमा लागेका छौं । हामीले राजनीतिक परिवर्तनहरु धेरै ग¥यौं । आर्थिक परिवर्तन र समृद्धि हासिल गर्न सकेनौं । यसलाई मध्यनजर गरेर हामीले आज वाम गठवन्धन गरेका छौं । यो कसैलाई हराउनका लागि र जिताउनका लागि नभई यो देशको अस्थिरताको अन्त्य गर्नका लागि हामीले गठवन्धन गरेका हौं । यसलाई सम्पूर्ण नेपाली आमा, बुबा, दाजुभाई, दिदिबहीनीहरुले यस्तो यर्थाथता बुझेर यो गठवन्धनलाई मत हाल्नुहुनेछ र विजय गराउनुहुनेछ भन्ने मेरो अपेक्षा एवं आग्रह छ ।

-जनार्दन ढकाल नेकपा एमालेका केन्द्रिय सदस्य एवं रसुवाका २०७० मा प्रत्यक्ष निर्वाचित सभासद् हुन् ।