“विकासका लागी पनि चुनावमा जत्तिकै अभ्यासको खाचोँ”

986
views

–छेवाङ रिन्जीङ गुरुङ, लोमन्थाङ 
चुनावमा विजयी हुनलाई नेता, कार्यकर्ता र मतदाता जति सक्रिय भए त्यति नै विकासको काममा पनि हुने भए हाम्रो देशको विकास हुनका लागी धेरै समय लाग्दैन भन्ने कुरा सबैले बुझिसकेका छन । चुनावमा जित्नु र विकास गर्ने कुरा फरक भए पनी अन्तरसम्वन्धित छन । चुनावमा जित्नलाई मुख्य उम्मेदवारीले तन, मन र धन लगाएर कार्यक्रम बनाउछ र त्यस अनुसार सबैको सहयोग लिएर परिचालन हुन्छ । साधारणतया विकासको काममा तन, मन र धन दिएर लागेको विरलै पाइन्छ । मेरो व्यक्तिगत बुझाईमा नेता भएर राजनिति गर्नु भनेको जनतालाई काखमा राखेर आफ्नो कार्यक्षेत्रको उन्नतिका लागी नेतृत्व गर्नु हो । जनतालाई काखमा नराखीकनै पनि काममा अगाडी बढ्नु भनेको त्यो स्वच्छ राजनिति होइन र यस्ले दिगो नेतृत्व तथा विकासलाई सहयोग पुग्दैन । हाम्रो देश संघीयतामा गई स्थानिय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भए पश्चात सम्पूर्ण जनतालाई लोकतन्त्रको पूर्ण महसूस भैसकेको छ । प्रजातान्त्रिक शासनको लागी यो एउटा ठूलो उपलब्धि हो । साथै विश्व राजनितिक दृष्टिकोणमा पनि नेपाल तथा नेपालीले प्राप्त गरेको ठूलो सफलता हो ।

 

प्रसङ्ग मुस्ताङमा विजयीहुनेहरु र हार हुनेहरुलाई हाम्रो अनुरोधको हो । खेल मैदानमा आएपछि एक पक्षको जीत र अर्को पक्षको हार स्वभाविक नै हो । जित हुने पक्ष जितको उन्मादमा मात्तिने र हार हुने पक्षमौन रही मुकदर्शक बनेर बस्न हुदैन । आफ्नो जिल्लाको विकासको जिम्मेवारी दूबै पक्षले सदाका लागि बोकी रहेको हुन्छ । दूबै एक आपसमा मिलेर गएनन् भने अन्तमा दुःख पाउने त सर्वसाधारणले नै हो ।

आर्थिक हिसाबमा जिल्लाको समग्र स्थिति राम्रो भएकोले धेरै नेपालीहरुले मुस्ताङलाई नेपालको साउदी अरब पनि भन्ने गर्छन । यो स्थितिलाई दिगोपना बनाइ राख्न र नियमित विकासका लागि यहाका जनताले राजनितिक पार्टिहरु र जनप्रतिनिधिहरुलाई जिम्मेवारी सुम्पिसकेको छ । सबैजना हातेमालो गरी कामगर्न मात्र अब बाँकी भएको अवस्था हो ।

जति भन्न सजिलो छ त्यति व्यवहारमा उतार्न सजिलो हुदैन । जब भन्ने र अनुरोध गर्ने मान्छे छैन भने त्यति सल्लाह र सुझाब पनि पुग्दैन । हामी Team Work मा गएनौ भने समग्र जिल्लाको विकास हुनगाहृो पर्छ भन्ने महसुस गरी अघि बढौं । (हाल पोखरा)