ओलीको भ्रमण मिति तोक्न दिल्लीलाई हतार !

598
views

काठमाण्डौ, ८ चैत । भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले दिल्लीमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण २३–२५ चैतमा हुने जानकारी नेपाली पत्रकारहरुलाई दिएका छन् । साताव्यापी भारत भ्रमणमा रहेको नेपाली पत्रकारहरुको टोलीसँग भारतीय अधिकारीहरुले यस्तो जानकारी दिएका हुन् ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भारतीय पक्षबाट चाँडै भ्रमण गर्न प्रस्ताव आएपनि मिति तय भैनसकेको र दिल्लीलाई काठमाडौंले यकिन मिति पनि उपलब्ध नगराइएको जनाएका छन् ।
दिल्लीको पुरानै डर
स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयले उत्तर–पूर्वी एसिया र दक्षिण एसिया महाशाखा गरी दुबै शाखाका प्रमुखहरुलाई ओली भ्रमणको आन्तरिक तयारीमा लाग्न निर्देशन दिएको छ ।

परराष्ट्र सचिव शंकरदास बैरागीको निर्देशनपछि दुबै महाशाखाले ओलीको भ्रमणका लागि प्रारम्भिक तयारी सुरु गरेका छन्। समानान्तर रुपमा भ्रमणको तयारी गर्न सम्बन्धित महाशाखाहरुलाई निर्देशन दिइएपनि परराष्ट्र मन्त्रालयका अधिकारीहरुको बुझाई ओलीको पहिलो विदेश भ्रमण भारतबाटै हुनेछ ।

ओली पहिलो पटक प्रधानमन्त्री हुँदा चीनसँग भएको वृहत सम्झौता र अब चीनसँगको सम्बन्धलाई उचाई दिने वामगठबन्धनको प्राथमिकताका कारण ओली पहिले दिल्लीको साटो बेइजिङ जान्छन् कि भन्ने भारतीय अधिकारीहरुलाई चिन्ता छ ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरुका भनाईमा, प्रधानमन्त्री ओलीको भारत भ्रमण छलफलकै क्रममा छ । संभवतः दिल्लीले प्रस्ताव र सार्वजनिक गरेकै मितिमा भ्रमण हुनेछ तर यसबारे ओलीले निर्णय लिइसकेको देखिँदैन । दिल्लीस्थित नेपाली दूताबासका प्रबक्ता हरि ओडारी भन्छन्, ‘प्रधानमन्त्रीको भ्रमणबारे छलफल चलेको छ, तर मिति यकिन भइसकेको छैन ।’

ओलीमाथि दबाब
नेपालले भ्रमणको मितिबारे निर्णय नगर्दै दिल्लीले यो मिति सार्वजनिक गरेर ओलीको पहिलो विदेश भ्रमण बनाउन मनोवैज्ञानिक माहोल खडा गर्न खोजेको चर्चा हुन थालेको छ । मिति नै सार्वजनिक गरिदिंदा ओली नयाँदिल्ली आउन बाध्य हुनसक्छन् भारतीय पक्षको बुझाई हुनसक्छ । अनि, चीन वा अन्य मुलुकले पनि त्यही मितिमा आफ्नो मुलुकमा भ्रमणका लागि ‘एप्रोच’ गर्नबाट पछि हट्छन् भन्ने अनुमान पनि हुनसक्छ ।

ओलीको निर्णय के होला ?
कुन मितिमा भ्रमण गर्ने भन्ने कुरा अनुकूलता र दुई देशबीचको सहमतिमा तय हुने गर्छ । यकिन भइसकेपछि मात्र दुवै पक्षले एकै मितिमा भ्रमणको मिति सार्वजनिक गर्ने कुटनीतिक प्रचलन छ । छलफलमा रहेको विषयलाई यसरी सार्वजनिक गरिनु कुटनीतिक मर्यादाविपरित त हुँदै हो, यो नेपाललाई हेपिएको घटना पनि हो ।

अपरिपक्व ढंगले भ्रमणको मिति सार्वजनिक गरिँदा अर्को देशले कसरी प्रतिक्रिया दिन सक्छ भन्ने बुझ्न ५ वर्षअघिको एउटा घटना ताजा छ । जस्तो, चिनियाँ समकक्षी वेन जिआबाओ नेपाल भ्रमणमा आउन लागेको भनेर तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले ०६८ कार्तिकमा मिति नै सार्वजनिक गरिदिए । त्यसबेला चर्चा भएअनुसार त्यसरी अगाडि नै मिति सार्वजनिक गरिएकै कारण वेन नेपाल आएनन् । ०६८ पुषमा मात्र आएका थिए ।

भट्टराईले सार्वजनिक गरेको मितिमा वेन नआउनुको कारण सुरक्षामात्र थिएन, यस्ता भ्रमणको मिति दुईपक्षीय रुपमा सार्वजनिक हुनुपर्छ भन्ने कुटनीतिक प्रचलनको ख्याल नगरिएकोप्रतिको असन्तुष्टि पनि थियो ।