‘नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा’

676
views

नयाँदिल्ली । नेपालमा भर्खरै सम्पन्न चुनावपछि वाम गठबन्धनको शक्तिशाली सरकार बनेसँगै भारतले नेपालसँगको सम्बन्धलाई नयाँ चरणमा प्रवेश गराउन खोजेको संकेत दिएको छ। भारतले नेपालसँग नयाँ मोडेलमा सम्बन्ध स्थापित गर्ने संकेत देखाएपछि सम्बन्ध सुमधुरतर्फ प्रवेश गरेको आकलन गरिएको छ।

भारतीय प्रधानमन्त्रीको निमन्त्रणामा तीनेदिने राजकीय भ्रमणमा दिल्ली आएका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएका औपचारिकरअनौपचारिक छलफलमा दुई देशबीच रहेको बहुआयामिक सम्बन्धको सिंहावलोकन गर्दै दुवै देशले सम्बन्धलाई नयाँ आधारमा स्थापित गर्ने समझदारी गरेका छन्।

दुई मुलुकका सरकार, निजी क्षेत्र र जनताको तहमा वृद्धि हुँदै गइरहेको सहकार्यलाई निरन्तरता दिँदै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा र्पुयाउन समानता, आपसी विश्वास, आदर र परस्पर फाइदाका आधारमा मिलेर काम गर्ने समझदारी दुवै देशका प्रधानमन्त्रीले गरेका छन्।

दुई देशका प्रधानमन्त्रीबीचको ‘वन अन वन’ वार्ता र द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउने विषयलाई उच्च महŒव दिइएको छ।

संयुक्त वक्तव्य जारीसँगै आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी ओलीले दुई देशबीचको सम्बन्धलाई आफूले नमुना बनाउन चाहेको बताए। संविधान जारी भएयता भारतसँगको नेपालको सम्बन्धमा केही चिसोपना देखा परेको थियो।

भारतले नेपालको संविधानलाई स्वागतसम्म नगरी संविधान संशोधनमा निरन्तर जोड दिँदै आएको छ। तर, ओली भ्रमण क्रममा उसले आफ्नो राजनीतिक लाइन परिवर्तन गर्न खोजेको सन्देश दिएको छ।

संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले संविधान कार्यान्वयनको चरणमा भएका तीन तहका निर्वाचन, संघीयता कार्यान्वयनको पक्षमा दिएका अभिव्यक्तिले पनि भारतले नेपाललाई हेर्ने राजनीतिक लाइनमा परिवर्तन गर्न खोजेको देखिन्छ।

‘नेपालको संघीय लोकतान्त्रिक व्यवस्थालाई दरिलो बनाउन नेपाल–भारतबीच आपसी सहयोग, विचार–विमर्श र अनुभव आदानप्रदानको ठूलो भूमिका हुन्छ’, मोदीले संयुक्त पत्रकार सम्मेलनमा भने, ‘नेपाल यतिबेला राजनीतिक इतिहासको एक नयाँ युगमा प्रवेश गरेको छ। एक नजिकको छिमेकी मित्र देशको नाताले एवं विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा नेपालको इतिहासको यो स्वर्णिम अध्याय शुभारम्भ हाम्रा लागि खुसीको विषय हो।’

ओली भ्रमणमा संयुक्त भेटपछि भारतीय विदेश मन्त्रालयले संयुक्त विज्ञप्ति जारी गरेपछि ओली सरकारसँग सहकार्य गर्ने प्रतिबद्धतालाई भारतले एक कदम अगाडि बढाएको छ।

ओलीको अघिल्लो भ्रमणमा संयुक्त विज्ञप्ति नै जारी नगरेर भारतले ओलीप्रतिको आफ्नो समर्थन नरहेको जाहेर गरेको थियो। यस पटकको भ्रमणमा पनि दुई प्रधानमन्त्रीको संयुक्त ब्रिफिङपछि भारतीय विदेश मन्त्रालयले सचिवस्तरीय पत्रकार सम्मेलन गरी मोदी–ओलीबीचको कुराकानी तथा भारतीय सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिएको छ।

तर, यसपटकको पत्रकार सम्मेलनमा विगतका प्रधानमन्त्रीको भ्रमणका बेला संविधानप्रतिको रिजर्भेसनको कहीँ–कतै उल्लेख गरिएन।

ओलीले पनि दुई देशबीचको सम्बन्ध पारस्परिक विश्वासमा आधारित नमुनाका रूपमा विकास गर्ने नेपालको चाहना रहेको बताएका थिए।

समानता, न्याय, पारस्परिक सम्मान र हितमा आधारित शान्तिपूर्ण सहअस्तित्व तथा दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ एवं प्रगाढ बनाउन नेपालले चाहेको ओलीको भनाइ थियो।

‘उच्च राजनीतिक तहमा हुने भेटवार्ताले सम्बन्धलाई नयाँ उचाइमा र्पुयाउने र बहुआयामिक द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्न यस्ता भेटवार्ता महत्वपूर्ण हुन्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘दुई देशबीचको सम्बन्धलाई पारस्परिक लाभबारे मोदीजीसँग छलफल भयो।’ नेपालको प्रधानमन्त्रीका रूपमा आफ्नो दोस्रो भ्रमण रहेको उल्लेख गर्दै ओलीले भने, ‘म यसपटकको भ्रमणलाई उच्चस्तरीय राजनीतिक तहमा हुने संवादलाई जारी राख्न अझै अर्को महत्वपूर्ण अवसरका रूपमा लिएको छु।’

विगत दुई दशकमा भारतले हासिल गरेको विकास र समृद्धि नेपालका निम्ति अवसर भएको प्रधानमन्त्री ओलीले बताए।

उनले नेपालीलाई ‘सुखी’ तुल्याउने आफ्नो प्रयासमा भारतीय सहयोगको खाँचो औंल्याए। ‘भौतिक पूर्वाधार निर्माण तथा स्थल, जलमार्गबाट नेपाललाई सम्पर्क सञ्जालमा समावेश गर्ने आफ्नो उद्देश्य पूरा गर्न भारतीय प्रधानमन्त्री मोदीले समुद्रसम्मको पहुँच नेपाललाई उपलब्ध गराउने घोषणा गर्नुभएकोमा आभारी छु।’

भारतीय प्रधानमन्त्री मोदीले नेपालको आर्थिक विकास र समृद्धिको प्रयासमा भारतले पूरापूर सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘भारतको विकासका लागि मेरो सच्चा साथ विकासको मूल मन्त्र र ओलीजीको ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियान एकअर्काका पूरक हुन्’, ‘नेपाल सरकारद्वारा निर्धा्रित प्राथमिकता र आवश्यकतामा आधारित भएर भारतले सहयोग गर्छ। प्रधानमन्त्री ओलीको भारत भ्रमण ऐतिहासिक लोकतान्त्रिक प्रक्रियाको पृष्ठभूमिमा भएको छ।’

‘नेपाल यतिबेला राजनीतिक इतिहासको एक नयाँ युगमा प्रवेश गरेको छ। एक नजिकको छिमेकी मित्र देशको नाताले एवं विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा नेपालको इतिहासको यो स्वर्णिम अध्यायको शुभारम्भ हाम्रा लागि खुसीको विषय हो’, मोदीले पत्रकार सम्मेलनमा भने।

‘सगरमाथाको देश समुद्रसँग जोडिनेछ’

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीसँग भएको जलमार्गसम्बन्धी सम्झौतालाई ऐतिहासिक भएको उल्लेख गरे। ‘इन ल्यान्ड वाटर ब्रिज’ मा भएको सम्झौताले नेपाललाई समुद्रसम्म अतिरिक्त कनेक्टिभिटी मिल्ने मोदीको दाबी छ। उनले भने, ‘सगरमाथाको देश सागरसँग सीधा जोडिनेछ, यो ऐतिहासिक शुभारम्भ हो। नेपाल भूपरिवेष्ठित मात्र नभई जलवेष्ठितबाट पनि जोडिनेछ।’

यस्तै, काठमाडौंदेखि भारतलाई जोड्ने नयाँ रेल लाइन, वीरगन्ज रक्सौल एकीकृत चेकपोस्ट्को उद्घाटन, तेलको पाइपलाइन र कृषिसम्बन्धी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण योगदान दिने मोदीले बताए।

मोदीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। भारतीय विदेश मन्त्रालयका अनुसार दुई प्रधानमन्त्रीबीचको भेटमा नेपाल भ्रमणको औपचारिक निम्तो दिइएको हो। भारतीय विदेश मन्त्रालयका सचिव विजय गोखलेले भने, ‘नेपालका प्रधानमन्त्री ओलीले मोदीजीलाई चाँडो नेपाल भ्रमणको निम्तो दिनुभयो।’ उनका अनुसार मोदीले सन् २०१८ भित्रै नेपाल भ्रमण गर्ने वाचा दिएका छन्। प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपतिलाई पनि नेपाल भ्रमणको निम्तो दिएका छन्।

‘ओली र मोदी भेटमा चीनबारे चर्चा भएन’

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनबारे चर्चा नभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। नेपालका प्रधानमन्त्री ओली र मोदीबीचको भेटघाटबारे जानकारी दिन भारतीय विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव गोखलेले दुई प्रधानमन्त्रीबीच चीनका विषयमा कुनै छलफल नभएको जानकारी दिए। उनले भने, ‘चीनबारे चर्चा नै भएन, दुई प्रधानमन्त्रीबीच नेपाल–भारतको द्विपक्षीय हित र चासोबारे मात्र छलफल भयो।’

१२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी आयोजना फेरि चीनलाई दिने प्रधानमन्त्री ओलीको भनाइबारे पत्रकारले सोधेको प्रश्नमा सचिव गोखलेले यसबारे कुनै चर्चा नभएको स्पष्ट पारे।

सार्कबारे ओली–मोदीका फरक धारणा

दुई प्रधानमन्त्रीबीच सार्क सम्मेलन, बिमस्टेक र बीबीआइएनबारे पनि छलफल भएको थियो। सार्कसहित क्षेत्रीय संगठनलाई प्रभावकारी बनाउन भारत सकारात्मक रहे पनि तत्काल सार्क सम्मेलन गर्न भने वातावरण अनुकूल नरहेको भारतीय प्रधानमन्त्री मोदीको जवाफ थियो। प्रधानमन्त्री ओलीले सार्क सम्मेलनबारे मोदीसँग कुरा राखेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

यस्तै, भारतसँगको व्यापार घाटाबारे पनि प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग छलफल गरेको विदेश सचिव गोखलेले जानकारी दिए। उनले भने, ‘व्यापार घाटाबारे छलफल भयो, साथै नेपालमा निर्माणाधीन भारतीय परियोजनालाई गति दिनेबारे पनि चर्चा भएको छ।’

यस्तै, क्रस बोर्डर विद्युतीय प्रसारण लाइन, सीमा सुरक्षाबारे समेत दुई प्रधानमन्त्रीबीच छलफल भएको थियो। भारतको रक्सौलदेखि काठमाडौं जोड्ने विद्युतीय रेल परियोजना दुवै देशका लागि ऐतिहासिक सम्झौता भएको भारतीय विदेश मन्त्रालयको दाबी छ।

एक वर्ष्भित्र रेलको सम्भाव्यता अध्ययन गर्ने र त्यसपछि लगानीको मोडालिटीबारे छलफल गर्ने दुई देशबीच सम्झौता भएको छ।

ओली र मोदीबीचको वार्तापछि जारी संयुक्त वक्तव्यमा भारतले नेपालसँग गरेका पूर्वसम्झौता तथा प्रतिबद्धता कार्यान्वयनमा तीव्रता दिने उल्लेख गरेको छ।

१२ बुँदे व्यक्तव्यमा भारतले विशेषगरी, रेलमार्ग, जलमार्ग र कृषि क्षेत्रको विकास र विस्तारमा दिने सहयोगलाई प्राथमिकतामा राखेको छ।

नेपाललाई भारतसँग जोड्न काठमाडौंदेखि रक्सौलसम्म एक वर्ष्भित्र रेलमार्ग विस्तार गर्न र त्यसमा सम्भाव्यता अध्ययन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिन दुवै पक्ष सहमत भएका छन्।

जयनगर–विजलपुरा–बर्दिवास र जोगबनी विराटनगरसम्मको रेलमार्ग विस्तारलाई तीव्रता दिन, न्यू जलपाइगुडी–काँकडभिट्टा, नौतनवा–भैरहवा र नेपालगन्ज रोड–नेपालगन्ज) लाई अघि बढाउन, जलमार्गमार्फत कार्गो ढुवानीमा नेपाललाई समुद्रसम्मको पहुँच दिने, दुई देशबीच व्यापार तथा पारवहन सम्झौता संशोधनका लागि आवश्यक गृहकार्य गर्नेलगायत सहमति भएको छ। भारतले भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी कामलाई थप तीव्रता दिन पनि प्रतिबद्धता जनाएको छ।

कृषि क्षेत्र विस्तार गर्न पनि सहयोग गर्ने उसको प्रतिबद्धता छ ।

त्यससँगै ओली र मोदीले संयुक्त रूपमा भारतीय सहयोगमा वीरगन्जको एकीकृत भन्सार जाँच चौकी आईसीपीको उद्घाटन र मोतियारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको शिलान्याससमेत गरे ।

शनिबार ओलीलाई भारत सरकारले गार्ड अफ अनर दिएपछि ओलीले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग भेटवार्ता गरेका थिए । स्रोतः अन्नपूर्ण पोष्ट