–कविता
सबिता शर्मा
जब स्पन्दनका गहिरा सुस्केरा भित्रबाट आलिसान जिन्दगीका
रमाइला सपना देख्छु ।
अनि केहि भेटाउदिन यो
बिचित्र संसारमा ।
कति घनघोर अन्यायको जाल
भित्र पिल्सिएका ति निर्दोष नारी
जिबनको फुल जस्तो जिबनलाइ
कल्पनाको संसारमा सजाउने ति अमुल्य सपनाहरू पनि
आज एकाएक बिलिन भएका छ्न ।
आखिर कहिले सम्म ?
आफैले आफैलाइ प्रश्न सोध्ने गर्छु
आखिर किन हस्तक्षेप गरिन्छ यहाँ नारी स्वतन्त्रता माथी
आखिर लोकतान्त्र
गणतन्त्रका यि उपलब्धि
र परिवर्तनका ढवाङ्ग फुक्ने
हरु सँग पनि बिश्वास छैन
मलाई ।
कहिले जाजरकोट दुख्यो
त कहिले कञ्चनपुर
अनि स्तब्ध भएर आउछ
मन भित्र बाटै राँको
बलेर आउछ
कहिल्यै ननिभ्ने गरि,
समुद्रका छाल जस्तै आबेगमा
म भित्रका ज्वाराभाटहरु आउन
खोज्छन् ।
अनि सुन्यतामै बिलिन हुन्छन्
तब म केहि गर्न सक्दिन
नयन बाट आँशुहरु बग्न
बाध्य हुन्छन् ।
नारी हक र स्वतन्त्रताको
निम्ती यो प्राणलाइ आहुती दिन
मन लाग्छ ।
नतमस्तक भएर अन्यायका यि घाउहरु बल्झाएर
आखिर कहिले सम्म त्रसित भै बाँच्नु पर्ने हो ।
अब यि नारी चित्कार र बेदनाको निम्ति
एउटा ठुलो ज्वलन्त लडाइँ लडेर
आफ्ना हक र अधिकार लाइ संस्थागत गर्न र शिर ठाडो पारेर हिड्ने
दिन कहिले आउला !
हो म त्यही दिनको पर्खाइमा छु
त्यही समयको पर्खाइमा यि
नुनिला आँसुहरु घुटुघुटु पिउदै
पर्खिरहेछु ।
हो पर्खिरहेछु
पर्खिरहेछु ।।।
कुनपा–१२, हाल पोखरा