हिमपातले चौँरी मरे

693
views

लमजुङ । हिमपातले हिमाली जिल्ला मनाङमा चौँरी मरेका छन् । मनाङमा हिमपात भएको एक महिनाभन्दा बढी भएपछि किसान चिन्तित बनेका हुन् । हिमपहिरोमा परेर, हिउँले पुरिएर, रुख ढलेर र खाना नपाएर चौँरी चरण क्षेत्रमै मरेपछि किसान चिन्तित भएका हुन् । नासों ४ ओडार गाउँका सुरेश थकालीले आफ्ना ११ वटा चौँरी मरेको बताए । उनले ९० वटा चौँरी पालेका थिए ।

माघ १० गते रातिदेखि परेको ठूलो हिमपातले चरन क्षेत्रमा जान नसकिएको र हिउँ कम भएपछि ४÷५ दिनअघि गएर चौँरी गाउँ नजिकै ल्याएको बताए । दुधबहादुर गुरुङले ४५ वटा चौँरी पालेकोमा पाँचवटा मरेको र १० वटा हराएको बताए ।

नासों गाउँपालिका ९, दानाक्युका वडअध्यक्षसमेत रहनुभएका सोनाम लामाले आफ्नो ७५ वटा चौँरीमध्ये ४५ वटा मात्रै जिउँदै रहेको बताए । उनले नौवटा मरेको र २१ वटा हिउँले पुरिएको बताए ।

एउटा याकको एक लाख २५ हजार रुपियाँसम्म पर्छ । करिब २० लाख रुपियाँ घाटा लागेको उनले बाए ।

तिल्चेका धर्मजंग गुरुङले तीन जना मिलेर ५५ वटा चौँरी पालेकोमा दुईवटा मरेको र ११ वटा बेपत्ता रहेको बताए ।

नासों गाउँपालिका २, का वडा अध्यक्ष भीमबहादुर गुरुङले नाचै गाउँलेको मात्रै डोना ताल नजिकै तीन सय चौँरी रहेकोमा अहिले अत्तोपत्तो नभएको बताए ।

तत्कालीन पशुसेवा कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार मनाङका ४ वटै गाउँपालिकामा दुई सय गोठमा तीन हजार एक सयभन्दा बढी चौँरी छन् । तल्लो भेगको नासों र चामे गाउँपालिकामा ७० भन्दा बढी चौँरी मरेको र चार सय जति सम्पर्कविहिन रहेको अगुवा किसान सुरेश थकालीले बताए ।