नेकपा (एमाले) को दशौं महाधिवेशन आगामी मंसिरमा

632
views

काठमाडौं, २९, फागुन । नेकपा (एमाले) ले १० औं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गर्दै त्यसकालागि २ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । कमिटीमा यसअघि एमालेमा रहेका २४१ केन्द्रीय सदस्य तथा पछिल्लो समय नेकपा (माओवादी केन्द्र) परित्याग गरी एमालेमा आउनुभएका २३ जनालाई केन्द्रीय सदस्यमा राखी १० औं महाधिवेशन आयोजक कमिटी विस्तार गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई चरणको बैठकले पार्टी अध्यक्ष तथा महासचिव बाहेक सबै पदाधिकारीको पद खारेज पनि गरेको छ । बैठकले २०७५ जेठ ३ गतेदेखि २०७७ फागुन २३ गतेसम्मको समयलाई शुन्य समयको रुपमा परिभाषित गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य दिपक देवकोटाले जानकारी दिए ।

उक्त बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी पनि तोकेको छ । केन्द्रीय सदस्य देवकोटाकाअनुसार प्रदेश १ को इन्चार्जमा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा रामबहादुर थापा ‘बादल’, उपत्यकाको इन्चार्जमा आनन्द पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल, सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

केन्द्रीय सदस्य देवकोटाकाअनुसार एमालेको नवौ महाधिवेशनपछि बसेको नवौ बैठकले २४१ सदस्यीय केन्द्रीय कमिटी कायम गरेको थियो । आज बसेको दशौं बैठकले २३ जना थप गरी २६४ पु¥याएको छ । माओवादीबाट थप भएका नेताहरुमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणी थापा, गौरीशंकर चौधरी, प्रभु साह लगायत छन् ।

बैठकले अवको ६ महिना भित्र जिल्लाको अधिवेशन सम्पन्न गर्ने, विधानको दफा ६५ (३) खारेज गरी उमेर हदको व्यवस्थालाई फुकुवा गरेको छ । यसअघि सो दफामा ७० वर्ष उमेर पुगेकाले राजनीतिबाट अवकास लिने व्यवस्था थियो । अहिले त्यो व्यवस्था खारेज गरिएको छ ।

आज १० औं र ११ औं बैठक सम्पन्न भएको र १२ औं बैठक चैत ७ गतेका लागि आव्हान भएको नेता देवकोटाले जानकारी दिए । ७ गतेको बैठकमा माधवकुमार नेपाल पक्षका सबै केन्द्रीय सदस्यहरुलाई पनि जानकारी गराउने निर्णय बैठकले गरेको छ ।