टी–२० विश्व कप छनोटमा नेपालसँग सिङ्गापुर आठ विकेटले पराजित

326
views

काठमाण्डौ – आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल आठ विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिङ्गापुरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर १६ दशमलव ३ ओभरमा पूरा गर्याे ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । यस्तै, कप्तान रोहित पौडेलले ३५ रन बनाउँदा आशिफ शेख २७ रन बनाएर आउट भए । बलिङतर्फ नेपालका अभिनाश बोहराले ३ तथा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान दुई÷दुई विकेट लिए ।

यस्तै, सिङ्गापुरका लागि रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान गरे भने आर्यवीर चौधरीले ३७, मनप्रित सिंहले २४ र अक्ष पुरीले १३ रन जोडे ।

अब, दोस्रो खेलमा नेपालले भोलि मलेसिया र १६ गते बिहीवार ओमानसँग खेल्नेछ । नेपाल रहेको समूह ’ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् ।

समूह ’बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउने छन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ ।