एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सको पहिलो जित, दक्षिण अफ्रिका ३८ रनले पराजित

215
views

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएको छ । गएराति धर्मशालामा भएको खेलमा दक्षिण अफ्रिका ३८ रनले नेदरल्याण्ड्सँग पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २ सय ७ रनमा अलआउट भयो ।

दक्षिण अफ्रिकाका लागि डेभिड मिल्लरले सर्वाधिक ४३ रन जोडे भने केशव महाराजले ४०, हेनरिक क्लासेनले २८ रन जोडे । नेदरल्याण्ड्सका लागि लोगन भान विकले ३ विकेट लिए भने पल भेन मिकेरेन, रोलेफ भान डेर र बास डी लिडले २– २ विकेट लिए ।

यस्तै, कोभिन एकरम्यानले १ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ४३ ओभरको खेलमा ८ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो । कप्तान स्कट एडवार्ड्सले ७८ रन अर्धशतकीय पारी खेले । यस्तै, रोलेफ भान डेरले २९ र आर्यन दत्त २३ रन जोडे ।

दक्षिण अफ्रिकाका लुंगी एनगिदी, मार्को ज्यानसेन, कगिसो रबाडाले २–२ तथा जेराल्ड कोएत्जी र केशव महाराजले समान एक एक विकेट लिए । जारी प्रतियोगितामा नेदल्याण्ड्सको यो पहिलो जित हो ।

यसअघि दुई खेलमा दुवै खेल हारेर पुछारमा रहेको नेदरल्याण्ड्स यो जितसँगै २ अंक जोड्दै एक स्थान माथि उक्लिएको छ । श्रीलंका पुछारमा धकेलिएको छ । दक्षिण अफ्रिकाको भने यो पहिलो हार हो । यस अघिका दुई खेल जितेको दक्षिण अफ्रिका ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ । उज्यालो अनलाईनबाट