इजरायलवासी नेपालीले नचाहेको एनआरएनए संस्था

1547
views

–मिना चुडाल
हामी प्रवासी नेपाली रोजगारको क्रममा ईजरायलमा छौं । ईजरायलमा मात्र होईन विश्वका हरेक ठाउँहरुमा नेपालीहरु रोजगारको शिलशिलामा आईरहेका छन् । नेपालवाट बाहिरीनेक्रम बढिरहेको छ । म पनि नेपालको राजधानी काठमाण्डौ घट्टेकुलो निवासी हुँ । मैले पनि राजधानी छाडेर विगत लामो समयदेखी इजरायलमा रोजगारी गरें । तर कहिल्यैपनि एनआरएनए संस्थाले जे गर्नुपर्दथ्यो त्यो गरेको पाईन् । अहिले एनआरएनए संस्थालाई चुनाव लागेछ सायद मेरो पनि मतको अपेक्षा भएको होला । म जस्तै धेरै मतदातालाई मतदानमा सहभागी गराउने उक्त संस्थाको अपेक्षा होला । खयर मैले गैरआवासिय नेपाली परिषदको चुनावी सरगर्मीलाई नियालिरहेकी छु । आउदै गरेको गैर आवासिय नेपाली समन्वय परिषदको घोषित चुनावले इजरायलको चुनाबी तापक्रम बढेको मात्रै होईन धमाधम उम्मेदवारी घोषणा भएको छ । यस चुनावको सरगर्मी बढ्दै गर्दा विगतको चुनावमा मतदान गर्ने मतदाताहरुलाई मैले एनआरएनएका काम कर्तव्य र गतिविधीका बारेमा सुझाउने प्रयत्न गर्न बाध्य भएँ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको चुनावलाई नजिकबाट हेरिएको छ । एनआरएनएले विगतमा चुनावी अभियानमा उठाएका चुनाबी नाराहरु चुनावपछि विर्सियो जसले हाम्रो मत अनर्थमा परिणत भयो । नारा नारामै सिमित भए । ईजरायलवासी नेपालीहरुले एनआरएनएबाट केही प्राप्ती गर्न पाएनन् । संस्थाको स्थापना किन र कस्का लागि गरिन्छ यो मुख्य कुरा हो । जब संस्थाको स्थापना हुन्छ संस्थामा बसेर दोहन गर्ने संस्थाको प्रवासी नेपालीहरुलाई आवश्यकता हुँदैन् । कसैलाई समाजसेवी बनाउने काममा गरेको लगानीको प्रतिफल दिन नसक्ने संस्था र संस्थाका प्रतिनीधिहरुलाई रकम र समय खर्चिएर भोट हाल्नु मुर्खता शिवाय अरु केही रहँदैन् । कुनैपनि संस्था उत्तरदायि र जवाफदेही बन्नुपर्दछ । चुनाव जित्नकै लागि घोषणा गरिने नाराहरु प्रतिशतका आधारमा कार्यान्वयन गरिनुपर्दछ । तबमात्र संस्था जवाफदही र उत्तरदायि बन्न सक्छ । हामीले भोट हाल्नु अगाडी विगतमा घोषित नाराहरु किन कार्यान्वयन गरिएन ? यसको मुल्याँकन गर्नुपर्दछ । मैले यस लेख मार्फत यसको जवाफ खोजिरहेको छु । कहिले र कुन बुँदाहरु कार्यन्वयन भए ? के उपलब्धी भयो ? यसको उत्तर दिने हिम्मत गर्नुपर्दछ ।

ईजरायलमा रहेका इजरायलवासी नेपालीले चौतर्फी प्रश्नचिन्ह खडा गरे तर यसको जवाफ आएन । बरु इजरायलवासी नेपालीले एनआरएनए प्रति अविश्वास गरे । चुनावी सरगर्मी बढिरहँदा अहिलेपनि उत्कृष्ट र परिमार्जित नाराहरु बनाएर ईजरायलवासी नेपालीहरुको आँखामा छारो हाल्ने काम भैरहेका छन् । हैसियत बिनाका ठुला–ठुला कुराको कुनै अर्थ हुदैन । एनआरएनए जस्तो छाता संगठनमा समाजसेवीको नाम पार्ने र एकलौटी हालीमुहाली गर्ने प्रचलन बढ्यो संस्थाबाट अपेक्षाकृत ईजरायलवासी नेपालीले कहिल्यै सहयोग पाएनन् । संस्थाको उच्च ओहोदामा पुग्ने व्यक्तिले आफुलाई इजरायल सरकारकै प्रवक्ता जस्तो ठाने तर इजरायलवासी नेपालीका लागि न्याय दिन सकेनन् । एनआरएनए संस्था मार्फत समाजसेवी बनेका महानुभावहरुको कामकार्यहरु घामजस्तै छर्लङ्क भएका छन् । हातमा पासर्पोट समातेर विदेश आउने नेपालीहरु एनआरएनएका पदाधिकारीलाई भोट हाल्न आउने होईनन् । हरेक सुखदुखमा हातेमालो गर्न नसक्ने संस्थाको औचित्य रहँदैन् । रोजगारको शिलशलामा विदेश आएका नेपालीहरुले ५० सेकलको टिकट काटेर भोट दिनुपूर्व एनआरएनए कस्ता मानिसलाई भन्ने ?, एनआरएनएले गर्नुपर्न काम कर्तब्यहरु के के हुन् ? एनआरएनएले इजरायलमा के गर्न सक्छ ? एनआरएनए सबैको छाता संस्था बन्न अन्य संस्थाप्रति निर्वाह गर्नुपर्ने भूमिकाहरु केके हुन ? जस्ता यावत प्रश्नहरुको जवाफ ईजरायलवासी नेपालीले खोजिरहेका छन् । इजरायलमा रहेका ईजरायलवासी नेपालीहरुले नचाहेको एनआरएनए संस्थाको चुनावपछि निर्वाचित हुने पदाधिकारीहरुको सफलताको अग्रिम शुभकामना ।