पृथ्वीनारायणमा राष्ट्रनिर्माणको चेतना थिएन भन्नेहरुलाई बहसको निम्तो

2134
views
  • –सुशील गौतम

    पछिल्लो पटक केही ‘बौद्धिक’हरुले पृथ्वीनारायण शाहमा राज्य एकीकरणको चेत थिएन र उनी सामन्ती समयमा बनेका राजा हुन् भनेर लेखे । पृथ्बीनारायण शाहलाई प्रयोग गरिएको ‘सामन्ती’ शब्दप्रति मेरो पनि समर्थन छ । निश्चय पनि उनी शक्तिशाली सामन्त राजा नै हुन् । उनैले भुरे टाकुरे राजा र भारदारको पगरी खोसे तर एउटा डाँडामा बालीनाली भित्राउने बेला अर्को डाँडाको राज्यले आएर लुटेर लैजाने अवस्थालाई भने रोके । राज्यकर त टाकुरे राजालाई बुझाए पनि बुझाउनु नै हो, एकीकरणको सपना देखेका सामन्ती राजालाई बुझाए पनि बुझाउनु हो ।तत्कालीन अवस्थामा सामन्त शब्दले पदलाई जनाउँथ्यो । सामन्त, महासामन्त एउटा प्रतिष्ठित पदवी थियो । पृथ्बीनारायण शाहलाई आज पनि गर्वका साथ महासामन्त भन्न सकिन्थ्यो होला, यदि उनी भन्दा झन्डै सय बर्षपछि जन्मिएका कार्ल माक्र्स भनेपछि भुतुक्कै हुनेहरूको संख्या नभइदिएको भए ।उनी सामन्त नै हुन् तर तात्कालीन परिवेशमा उनको सामन्तीपनको पनि तुलनात्मक बुझाई हुनुपर्छ । जे कुरा पनि पश्चिमी दृष्टिकोणबाटै हेर्ने परिपाटीले सामन्ती शब्द पनि भ्रष्ट भएको हुनसक्छ । जब उनी महासामन्त बन्ने महत्वाकांक्षा लिएर अन्य फरक भाषा, संस्कार, धार्मिक सम्प्रदाय र भेषभुषा भएको राज्यमा आक्रमण गर्दै थिए, त्यसको तीनसय बर्ष अघि अर्थात् १४५२ मा पोर्चुगलका पोपले राजा निकोलसलाई गैर क्रिश्चियन देशलाई चर्चको मातहतमा ल्याउन आग्रह गरे । ‘डक्ट्रिन अफ क्रिस्चियन डिस्कभरी’को नामले चिनिने यस तथाकथित अन्तराष्ट्रिय कानुनले प्रभुले दिएको यस पृथ्बी क्रिश्चियनहरूको निम्ति हो, गैर क्रिश्चियनबाट मुक्त हुनुपर्छ भनेर ‘डिस्कभरी’ शब्दको परिभाषा दिइयो । कुनै पनि चिज त्यो बेलासम्म ‘पत्ता लागेको’ (डिस्कभरी) मानिदैन जबसम्म त्यसलाई चर्चको मातहत ल्याईदैन । अर्थात् ‘चर्च र क्रिस्चियनिटिको आधिकारिक स्वीकृति बिना ‘डिस्कभरी’ शब्दले कुनै अर्थ राख्दैन । उताका पोपको डिस्कभरी र यहाँको सामन्त शब्दको अर्थलाई पनि यसैगरी बुझ्नु पर्छ । यहि डक्ट्रिन अफ क्रिस्चियन डिस्कभरीलाई आधार बनाएर राति सुतिसकेका गैर क्रिस्चियनको आँगनमा झण्डा गाडेपछि त्यसले त्यो घर आँगन भोगचलन गर्न पाएन । कि त क्रिस्चियन बन्नुपर्यो कि ठाउँ छोडेर हिड्नु पर्यो । हाम्रो स्कूलमा समेत पढाई हुन्छ– अमेरिका कोलम्बसले पत्ता लगाएको भनेर । हजारौं बर्षदेखि त्यस महादिपमा बसिरहेका गैर क्रिश्चियनहरूको दृष्टिकोण सुन्ने कुरै भएन किनभने डक्ट्रिन अफ क्रिस्चियन डिस्कभरीले गैर क्रिश्चियनहरू असभ्य हुन्छन्, उनीहरूलाई प्रभुले दिएको पृथ्वीको भोगचलन गर्ने अधिकार छैन भनिएको छ । असभ्यहरूको दृष्टिकोण कसले सुनोस् ? चर्चको मातहत आउनुअघि पनि अमेरिका थियो भन्ने पूर्वीय विद्वान त्यहाँ छैनन्, जसरी यहाँ पृथ्वीनारायणले जातिभाषा दवाएर भूगोलविस्तार गरेका हुन्, राज्य एकीकरणको चेतना थिएन भन्ने पश्चिमा ‘विद्वान’ छन् । कोलम्बसले अमेरिका ‘पत्ता लगाएको’ भन्नु भनेको हामी आफैले आफैंलाई असभ्य भन्नु हो, आफ्नै संस्कृति र परम्पराप्रति घृणा गर्नु हो । पृथ्बीनारायण शाह जन्मिसकेका छैनन् । पुर्तुगाली भास्को डे गामाले इन्डिया पत्ता लगाए भन्ने अझै पढाई हुँदैछ । इन्डिया भनेर आजको जस्तो काश्मिरदेखि कन्याकुमारीसम्मको भूभागलाई भनिएको होइन । पूर्वीय दर्शनको मूलथलो हालको नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, तिब्बत यी सबैलाई भनिएको हो । यी सबैमा कि हिन्दु थिए, कि बौद्ध थिए, कि किराँत थिए, कि जैन थिए, कि बोन थिए, कि सिख थिए । तर समग्रमा यी असभ्य र जंगली थिए । किनभने यिनीहरू क्रिश्चियन थिएनन् । ‘डक्ट्रिन अफ क्रिस्चियन डिस्कभरी’ ले यहि भन्छ । भास्को डे गामा यस भूभागमा प्रवेश गरे ।यहि सेरोफेरोमा पुर्तुगाली पÞmर्डिनाड मगेल्लान फिलिपिन्स छिरे । गैर क्रिस्चियनको भूभाग क्रमशः छिनिने क्रम सुरु भयो । किनभने फिलिपिन्सका गुप्त बंश, पल्लव बंशले राज गरेका हिन्दु र बौद्धहरूलाई पृथ्वीको कुनै पनि भूभागमा भोगचलन गर्ने अधिकार दिने कुरै भएन । कि क्रिश्चियन बन्न पर्यो नत्र ठाउँ छोडेर भाग्नुपर्यो । यता पृथ्वीनारायण शाह जन्मिए । महासामन्त बन्ने महत्वाकांक्षा लिएर आक्रमणमा उत्रिए । आफू ठकुरी थिए तर, पराजित सेनाका मगरलाई सेनापति बनाए । पराजित राज्यकी जीवित देवी कुमारीलाई खुट्टामा ढोगेर आशिर्वाद लिए । पराजित राज्यलाई राजधानी बनाए । अरु त अरु, पराजित राज्यको नामबाट बिस्तारित राज्यको नाम नेपाल बन्न पुग्यो । यता यो भूभागमा चार जात छत्तिस बर्ण थियो, अहिले पनि छ र पछि पनि रहन्छ तर डाँडै पिच्छे राजा रहेनन् । हिन्दु, बौद्ध, जैन, किराँत र बोन थिए, अहिले पनि छन्, पछि पनि हुनेछन् । उता ‘डक्ट्रिन अफ क्रिस्चियन डिस्कभरी’ बोकेर आएकाहरूले दश देखि पचास प्रतिशतसम्म कर लगाए सिमाना जोडिएको बङ्गालमा । भकारीमा धान संकलन गरेर राख्न मनाही गरियो । खाद्यान्नको सट्टा अफिम लगाउन बाध्य पारियो । खडेरी लाग्यो । सालाखाला एक करोड मान्छे मरे, खान नपाएर ।अलि पर हिन्दु र बौद्धहरूको उर्वर थलो फिलिपिन्स् झन् थिलोथिलो हुँदै गयो । अहिले आएर तथ्यांक हेर्छु, गरिबीदर नेपाल जत्तिकै २५.२ प्रतिशत नै छ । तर रोमन क्याथोलिक ८२.९ प्रतिशत, इभान्जेलिक २.८ प्रतिशत, इग्लेसिया नि क्रिस्टो (क्रिस्चियानिटीको प्रकार) २.३ प्रतिशत, अन्य क्रिस्चियन ४.५ प्रतिशत जम्मा गरेर ९२.५ प्रतिशत क्रिस्चियन भएछन् । खै कहाँ गए त्यहाँका हिन्दुहरू ? कहाँ गए त्यहाँका बौद्धहरू ? कहाँ गए स्थानीय संस्कृति परम्परा ? नेपालमा पृथ्वीनारायणले हिन्दुबाहेक सवै परम्परा र धर्म मासे भन्नेहरुसँग यसको जवाफ छैन । यता पृथ्बीनारायण शाह बिते । हिन्दुहरूको बिस्केट जात्रा यथावत चलिरह्यो । बौद्धहरूको सम्यक महादान झन् हर्षोल्लासपूर्ण हुँदै गए । बुढासुब्बा मन्दिर तिर्थस्थल नै बन्यो । समय बित्यो । उता डक्ट्रिन अफ क्रिस्चियन डिस्कभरी बोकेर हालको अमेरिका छिरेकाहरूले गैरक्रिश्चियनलाई भोग चलन गर्न नपाउने कानुनको हवाला दिएर राष्ट्रपति एण्ड्रेउ ज्याक्सनले ‘इन्डियन रिमुवल एक्ट’ जारी गरे । त्यहाँ हजारौं बर्षदेखि बसिआएका गैर इसाईहरूलाई मिसीसीपी नदि पारी खेदियो । हिंडेर दुई हजार माइल पार गर्ने क्रममा कैयौं मरे । महिलाहरूलाई बच्चा पाउन नमिल्ने ‘बाँझो’ बनाईयो । हालको अमेरिकामा मात्र बीस लाखदेखि एक करोड असी लाख मानिस मारिए । ‘अमेरिकन होलोकोस्ट ‘भनेर यकिन तथ्यांक खोज्ने क्रममा गुगलमा फरक फरक तथ्यांकका लिस्ट आए । औसतमा पाँच करोड त्यहाँका आदिवासी मारिएको भनेर डेभिड इ स्टान्नर्डको किताब ‘अमेरिकन होलोकोस्ट’ को पुस्तक समीक्षामा बताईएको छ । त्योबिघ्न आदिवासी मारिएपछि आजको तथ्यांक हेर्दा प्रोटेस्टेन्ट ४६.५ प्रतिशत, रोमन क्याथोलिक २०.८ प्रतिशत जेहोभाको साक्षी (क्रिस्चियन को प्रकार) ०.८ प्रतिशत अन्य क्रिस्चियन ०.९ प्रतिशत गरी जम्मा ७०.६ प्रतिशत क्रिस्चियन र २२.८ प्रतिशत नास्तिक बाँकी रहेछन् । खै त्यहाँ आदिवासीको धर्म संस्कृति परम्परा ? ठूलो जातिमा गोरा, काला र पछि एसियाबाट गएका छन् । खै त्यहाँका नेटिभ अमेरिकन ? अंग्रेजी बोल्ने ७९.२ प्रतिशत, स्पेनिश बोल्ने १२.९ प्रतिशत, भारोपेली बोल्ने ३.९ प्रतिशत सैयौं किसिमका आदिवासीहरूको भाषा बोल्ने अब ३.३ प्रतिशतमा सिमित रहेको छ ।यी सामन्ती युगमा भएका घटनाहरू हुन् । दुई सामन्तहरूको भिडन्त सुगौली सन्धिमा गएर रोकिएको थियो । उताका सामन्तले इसाई बाहेकलाई पृथ्वीको भोगचलन गर्न दिनबाट रोक्न हिंडेका थिए, यताका ‘महासामन्त’ले त्यसो गर्नबाट रोकेका थिए । तिनीहरू छिरेका फिलिपिन्समा गरिबी नेपालकै बराबर छ तर, हिन्दु र बौद्ध सकिए । इसाई बढेर ९२ प्रतिशत पुर्याईयो । जब मिसिनरीहरू अफ्रिका आए तिनीहरूसँग बाइबल थियो, हाम्रो हातमा जमिन । प्रार्थना गर्न आँखा चिम्ल्याए । आँखा खोलि हेर्दा हाम्रो हातमा बाइबल थियो तिनीहरूको हातमा जमिन । डेस्मण्ड तुतुको यो भनाई, अफ्रिकाको अहिलेको गरिबी, भोकमरी, द्वन्द्व, अमेरिकी आदिवासी दोहोलो र फिलिपिन्सको धर्मान्तरणको तथ्यांकलाई राखेर हेर्दा सहजै बुझिन्छ, डक्ट्रिन अफ क्रिस्टियन डिस्कभरी बोकेकाहरू मिसिनरीहरूलाई पृथ्वीनारायण शाहले किन लखेटे तर, पराजित राज्यकी कुमारीलाई किन ढोगे ?

    रह्यो कुरा किर्तिपुरमा सत्र धार्नी नाक कान काटेर फालेको विषय । सिद्धिएर चार–पाँच हजारको संख्यामा बाँकी रहेका लडाकुको संख्या ठाउँको ठाउँ बाइस हजार पुर्याउन सक्ने व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा बसेको बेला, उनलाई बुई गरेका मिसिनारीले निरक्षर विबेकी भएर सत्र धार्नी नाक कान जोखे भनेर पत्याउनु र अमेरिका कोलम्बसले पत्ता लगाएको भनेर पत्याउनु एउटै कुरा हो ।     नाक र कान काटिएको समय उत्तरी युरोपमा भेडाको एकापट्टिको भाग कालो देखिंदा पुरै युरोपको भेडा कालो हुन्छ भनेर बुझिने बेला थियो । दुईचार जना भरियाको नाक नदेखेकोले पुरै किर्तिपुरेको नाक काटिएको थियो भनेर लेखे पादरीहरूले । अहिलेको समय उत्तरी युरोपमा हामीले देखेको भेडाको हामीपट्टी फर्केको भाग कालो थियो भन्ने बेला हो । तत्कालीन अवस्थामा ठकुरी महासामन्त नजन्मिएको भए कि मल्ल, कि मगर, कि गुरुङ, कि लिम्बु महासामन्त जन्मिनै पथ्र्यो, अन्यथा प्रभु नमान्नेलाई पृथ्वीको भोग चलन गर्ने अधिकार छैन भन्दै हिन्दु, बौद्ध, जैन, किराँत, बोनलाई निमिट्यान्न पारेर फिलिपिन्सको अवस्था हुँदैनथ्यो भन्न सकिंदैन । बंचेखुचेकाहरू कि मेरा भारत महान है भन्दै हुन्थे, कि नभए तामाङ बोर्डलाई वर्षको पचास लाख दिने हामी गुरुङ बोर्डलाई किन नदिने भनेर लड्दै हुन्थे– अहिले दार्जि्लिङमा जस्तै । आफैले अर्थ बोक्दैन । पृथ्वीनारायाण शाहको पालामा जसरी सामन्त, महासामन्त भनेर इज्जत गरिन्थ्यो, त्यहि सामन्तलाई फेरि दोहोर्याउनु आवश्यक छ । माक्र्सवादी फरिया ओढेर ‘सामन्त’ भन्दै किन सत्तोसराप गर्नुपर्यो ? हाम्रो सन्तान दरसन्तानलाई सिकाउनुपर्छ– बाबु ! पृथ्वीनारायण शाह महासामन्त थिए । महासामन्त भनेको प्रभु नमान्नेलाई पृथ्वीको भोगचलन गर्ने अधिकार छैन भन्दै आएका मिसिनरीलाई लखेट्ने, सिंजा प्रान्तको भाषा गोर्खा मार्फत फैलाउने, पराजित राज्यको नामबाट विस्तारित राज्यको नाम राख्ने, पराजित राज्यलाई राजधानी बनाउने अनि पराजित राज्य वैदिक सभ्यताको उत्तराधिकारी हो भन्दै शाक्यको छोरीलाई खुट्टामा ढोग्ने दूरदर्शीलाई महासामन्त भनिन्छ । तिमी पनि भबिष्यमा त्यस्तै महासामन्त बन्नु ल ।