अमेरिकी विध्वंसकलाई चेतावनी दिन चीनले पठायो एक जहाज, दुई लडाकु जेट र एक हेलिकप्टर

943
views

एजेन्सी । एक अमेरिकी क्षेप्यास्त्र विध्वंसक युद्धपोत दक्षिण चीन सागरमा प्रवेश गरेपछि चीनले कडा शब्दमा त्यसको विरोध गरेको छ । अमेरिकी कदमको विरोध गर्दै चीनले ‘यस्तै उत्तेजनात्मक क्रियाकलाप जारी रहे चिनियाँ सेनाले जल तथा हवाइ युद्धको तयारी बढाउने’ चेतावनी पनि दिएको छ ।
मंगलबार चेफी नामक अमेरिकी क्षेप्यास्त्र विध्वंसक जहाज दक्षिण चीन सागरको पारासेल टापुनजिकै पुगेको थियो। तर आफ्नो नौसैनिक जहाज १२ नाउटिकल माइलभन्दा नजिक नगएको अमेरिकाले बताएको छ । जमिनबाट १२ नाउटिकल माइलभन्दा बाहिरको क्षेत्रलाई अन्तराष्ट्रिय जलक्षेत्र मानिन्छ ।
बुधबार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले अमेरिकाले अन्तराष्ट्रि कानुन मिचेको अरोप लगाइन् । ‘अमेरिकी विध्वंसकले चिनियाँ तथा अन्तर्रा्ष्ट्रिय कानुन मिचेको छ र चीनको सार्वभौमसत्ता तथा सुरक्षा स्वार्थलाई गम्भीर धक्का दिएको छ । साथै दुवै देशका अग्रभागमा रहेका सुरक्षाकर्मीको जीवनमाथि पनि खतरा पैदा गरेको छ,’ हुआले भनिन् ।
उनले वाशिंगटनसँग यसबारेमा कडा प्रतिवाद गरिएको जनाउँदै अमेरकालाई ’आफ्नो गल्ती सच्याउन’ पनि आग्रह गरिन् । चिनियाँ रक्षा मन्त्रालयले पनि एक वक्तव्य जारी गर्दै अमेरिकाको यो कदमले चीन र अमेरिकाबीच विश्वासको संकट ल्याउने चेतावनी दिएको छ ।
‘अमेरिकी सेनाले बारम्बार उत्तेजनात्मक व्यवहार जारी राख्दा चिनियाँ सेनाले राष्ट्रिय सार्वभौमिकता तथा सुरक्षा स्वार्थको रक्षा गर्न जल तथा हवाइ युद्धका लागि आफ्नो तयारी झनै बढाउनेछ र रक्षालाई सुदृढ गर्नेछ,’ रक्षा मन्त्रालयको भनाइ एससिएमपीले उधृत गरेको छ ।
चिनियाँ रक्षा मन्त्रालयले अमेरिकी नौसैनिक जहाजलाई चेतावनी दिन एक जहाज, दुई जे–११बी लडाकु जेट र एक जेड–८ हेलिकप्टर त्यहाँ पठाएको पनि बताएको छ ।
अमेरिकी रक्षा मन्त्रालयले यस विषयमा केही टिप्पणी नगरे पनि यो उसको ’स्वतन्त्रतापूर्वक जलयात्रा गर्ने नियमित अभ्यास’ भएको जनाएको छ । अमेरिकाले आफ्नो यस्तो कदम भविष्यमा पनि जारी रहने बताएको रोयटर्सको रिपोर्टमा उल्लेख छ । ‘दक्षिण चीन सागरमा चीनको बढ्दो दाबीलाई चुनौती दिन’ उसले यस्तो कदम चालेको बताएको छ ।
चीन र अमेरिकाबीच यस विषयलाई लिएर तनाव बढेपछि अर्को महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको एजेण्डालाई यसले फरक नपार्ने केही विश्लेषकहरुले बताएका छन् ।
दक्षिण चीन सागरमा चीनको दाबीलाई चुनौती दिन भन्दै अमेरिकाले बारम्बार आफ्ना जहाजहरुलाई त्यसतर्फ पठाउने गरेको छ। गत अगस्ट महिनामा पनि एक अमेरिकी नौसैनिक जहाज दक्षिण चीन सागरको एक टापुबाट १२ नाउटिकल माइल दूरीभित्र प्रवेश गरेको थियो। यस्ता अमेरिकी कदमको चीनले विरोध गर्दै आएको छ । नेपालखबरबाट