बीस वर्षदेखि ओढारको बास, छाप्रोमा मर्ने धोको

611
views

काठमाडौँ । काठमाण्डौ । रूपसिंह चेपाङ उमेर ७६ वर्ष । आफ्नो नाममा जग्गा शून्य । २० वर्षदेखि ओढारवासी । चितवनको राप्ती नगरपालिका–१३, युतीस्थित ओढारमा बस्दै आएका एक जना वृद्ध चेपाङको परिचय हो यो । करिब १० वर्षअघि श्रीमतीको मृत्यु भएपछि उनी एक्ला भए। त्यसपछि सहाराविहीन छन् ।

उनी बस्ने ओढारनजिकै छोरीको घर छ । त्यो पनि ‘जनता आवास’ कार्यक्रमले बनाइदिएको । त्यसबाहेक वरिपरि कसैको घर छैन। एक्ला र अशक्त छन् तर छोरीको घरमा बस्न चाहँदैनन्। खानेकुरा भएको बेला तिनै छोरीले पकाएर ओढारमै लगिदिन्छिन् । नभएको बेला खोकिलामा हात हाल्छन, भोकै बस्छन् । ‘कसैले ल्याएर दियो भने छोरीले मलाई पनि पकाएर ल्याइदिन्छिन्, नत्र उनीहरू नै भोकै पर्छन्, म बूढोले कहाँबाट पाउनु ? ’ उनले भने ।

यसपालि पनि उनले त्यहीं जाडो काटे । न ओढ्ने छ न त आङ छोप्ने एकधरो कपडा । जाडो गएर के गर्नु, फेरि बर्खा लागिहाल्छ । वर्षा सुरु भएपछि पानी रसाउँदै आउँछ, ओढारमा ।

शरीर निकै गलिसकेको छ । ओढारबाट निस्केर हिँडडुल गर्न पनि सक्दैनन् । धुनी तापेकै भरमा रात कटाउँछन् उनी । धेरै दिनसम्म केही खान नपाएपछि भोक सहन सक्दैनन्, अनि भोक टार्न त्यही खरानी खान्छन् ।

उनलाई विभिन्न रोगले गाँजेको छ । उपचारको त के कुरा गर्नु ! अहिलेसम्म अस्पताल र डाक्टर देख्नै पाएका छैनन् । दुईवटै खुट्टाको घुँडा दुख्दा पनि खरानी नै दल्छन् । भन्छन्, ‘आगो र खरानी भनेको त भगवान् हो । मलाई यसैले बचाएको छ ।’ चिसोले टाउको दुख्दा पनि निधारमा खरानी घस्छन् । त्यसो गर्दा निको हुन्छ भन्ने उनको बुझाइ छ ।

ओढारको चिसो ढुंगा नै उनको नियमित ओछ्यान बनेको छ । आँखा पनि कमजोर बन्दै गएको छ । राम्रोसँग देख्न सक्दैनन् । दाहिने आँखाबाट जति आँसु चुहिएको छ, त्योभन्दा बढी देब्रे आँखाबाट रगत बगिरहेको छ । तर, उनको यो कहालीलाग्दो व्यथा कसले सुनिदिने ?

चिसोले ओठ सुकेको छ । तैपनि, आगोको भरमा रात काट्नुपरेको छ । तर, कुटुम्बको घरमा बस्न नहुने भन्दै छोरीको घरमा जाँदैनन् । ‘अहिलेसम्म त ओढारमै बसेर बिताएँ । अब मर्ने बेला कुटुम्बको घरमा कसरी बस्नु ? ’ उनले भने, ‘मलाई त यही ओढार प्यारो छ ।’ तर, उनलाई कसैले आएर सानोतिनो झुप्रो बनाइदिए जीवनको अन्तिम क्षणमा आरामको सास फेर्दै मर्ने धोको छ । अन्नपूर्णपोष्टबाट