प्रहरीलाई अनुशासनको दायरामा ल्याउँछु–गृहमन्त्री शर्मा

551
views

काठमाडौं, २६, जेठ । गृहमन्त्री जनार्दन शर्माले प्रहरीमा अनुशासनको पालना सहित विधि स्थापित गरी समस्याको समाधानमा जोड दिने बताउनुभएको छ ।
यसको समाधान सङ्गठन भित्रैबाट खोज्नुपर्नेमा जोड दिदै गृहमन्त्री शर्माले भन्नुभयो संगठनमा अनुशासन पालनापछि समस्याको समाधान गर्न सहज हुन्छ ।’ प्रहरी प्रधान कार्यालयको बिहीबार निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री शर्माले प्रहरी सङ्गठनमा रहेका चुनौतीको सामूहिक रुपमा सामना गर्दै राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।
उहाँले चेन अफ कमाण्ड’लाई सुदृढ र व्यवस्थित गर्नुपर्ने भन्दै प्रहरीको वृत्ति विकास, भौतिक संरचना, साधनस्रोत, प्रशिक्षण लगायत विषयमा क्रमिकरुपमा सुधार गर्न आफू तयार रहेको बताउनुभयो ।
सशक्त जनशक्ति, राजनीतिक स्थिरता र इच्छा शक्ति भएमा राष्ट्र समृद्ध र विकसित हुने तथा यसबाट शान्ति सुरक्षामा पनि सुधार आउने चर्चा गर्दै गृहमन्त्री शर्माले यसका लागि सुरक्षाको क्षेत्रमा जनतालाई सहभागी गराइनुपर्ने बताउनुभयो । अपराध अनुसन्धान, सीमा क्षेत्रमा हुने घटना, प्रतिआतङ्कवाद जस्ता घटनामा समेत जनताको सहयोग र सहभागिता गराउन सकेमा अझै बढी सफलता हासिल हुने उहाँले उल्लेख गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले निर्देशनलाई मार्गदर्शनको रुपमा अवलम्बन गर्नुको साथै यसको मर्म र भावनालाई कार्य सम्पादनमा अक्षरशः पालना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।