निर्वाचन स्थगित गर्न आएको पत्र लिएर रेडक्रस अदालत जाने

659
views

धरान, २३, वैशाख । नेपाल रेडक्रस सोसाईटी केन्द्रले निर्वाचन स्थगित गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आएको निर्देशनात्मक पत्रपछि दुःख व्यक्त गरेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले २३ गते धरानमा हुन गएको साधारण सभा एवं निर्वाचन स्थिगत गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट च.नं ९८६ को स्थगित पत्र आएपछि दुःख मनाउ गरेको हो ।

नेपाल रेडक्रस सोसाइटीले विधानअनुसार २०७६ वैशाख २३ देखि २५ गतेसम्म सुनसरीको धरानमा महाधिवेशनको लागि देशभरका साधारण सभा एवं निर्वाचन गर्न लागेको थियो ।निर्वाचनका लागि महाधिवेशनका प्रतिनिधिहरूको दर्ता लगायत महाधिवेशनको सम्पूर्ण तयारी पुरा भई पत्रकार सम्मेलनको समेत आयोजना हुन लागेको थियो ।

नेरेसोले संस्थालाई जीवन्त राख्दै नयाँ नेतृत्व चयन गर्न र विगत ५६ वर्षदेखि सञ्चालित रेडक्रसका मानवीय सेवालाई अझ उचाईमा लैजान बल पुर्याउने वैधानिक महाधिवेशन हठात रोकिनु आश्चर्यजनक भएको जनाएको छ ।

उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयबाट अध्ययन भइरहेको सन्दर्भले नेपाल सरकारको प्रतिवद्धताबमोजिम अन्तराष्ट्रिय रेडक्रस अभियानको अंगको रूपमा रहेको र सम्पूर्ण वैधानिक र कानुनी दायित्व पूरा गरेको संस्थाको महत्वपूर्ण महाधिवेशन र निर्वाचन स्थगित गर्नको लागि निर्देशन जारी हुँदा नेरेसोले आपत्ति जनाएको हो ।

नेपाल रेडक्रस सोसाईटी केन्द्रले केन्द्रीय कार्यसमितिको एकमतले संस्थाका संस्थापकमध्येका नेरेसोका पूर्व अध्यक्ष रमेशकुमार शर्मालाई निर्वाचन अधिकारीको रूपमा चयन गरी निर्वाचनसँग सम्बन्धित कार्य समेत सुरू भएको जनाएको छ ।

महाधिवेशनको लागि पहिल्यै धरानमा जम्मा भइसक्नुभएका नेरेसो केन्द्रीय कार्यसमितिका ३१ मध्ये ३० जना पदाधिकारी र सदस्यहरूले केन्द्रिय कार्य समितिको बैठकमा गम्भीर छलफल गरी उक्त पत्र संस्थाको हित र प्रचलित कानुन अनुकूल समेत नभएकोले कानूनी उपचारको लागि अदालतसम्म जाने जाने निर्णय गरेको छ ।