-कैलुब्राह ([email protected])
यतिखेर नेपाल मण्डलमा मनुखे ओसारपसार गर्ने चारपङ्ग्रेका मालिकहर्काे सिण्डिकेटको विषयले आकाश जमीन थर्काएको छ । हुन पनि यी सिण्डिकेटेहर्ले सिण्डिकेट पनि अचाक्लीसँग लगा’का थे । सिण्डिकेट पनि एकादुई थरी मात्रै काँ’ हो र । कति हो कति थरीको । लौ हेर्नुस् कति थरीको सिण्डिकेट भोगिरा’थ्यौँ हाम्ले ।
एक– त्यो मनुखे ओसार्ने जिनिसको नाउँ चाहिँ बस भन्दारान, तर त्याँ बस्न त काँ’पाई सिन्की खाँदेझैँ खाँदिएर उठ्नु पर्ने । नाउँ भने बस, काम भने उठ । त्यो पनि भालेपोथी एकै ठाउँ ठेलाठेल गरेर । भालेले पोथीलाई केके जाति पोथीहिँसा गर्ने, पोथीले पनि भालेजातिलाई केके जाति भालेहिँसा गर्ने गरी कोच्ने । बस भनेको ठाउँमा उठेर यात्रा गरे पनि पैसा बसेका र उठेकासँग बराबरै लिने । यो पहिलो सिण्डिकेट ।
दुई – चढ्नेबेला आपूm जाँ उभिया छ त्याँ रोकेर चढाउने तर झर्नेबेला तिन्ले भनेको ठाउँमा मात्रै झर्न पर्ने । यो दोस्रो सिण्डिकेट ।
तीन – यात्रुसित झगडा गरेर भे पनि उतिखेरै पैसा झार्ने । लिनेबेला एक पैसा पनि नछोर्ने, तर पसेन्जर्ले ज्याला भन्दा ठूलो नोट दियो भने फिर्ता दिन विर्सिने, माग्यो भने ऐले पख भनेर हकार्ने । यो तेस्रो सिण्डिकेट ।
चार – लामो दूरीको यात्रा गर्ने बेला एउटै सीटमा दुई तीन जनाको टिकेट काटेर यात्रुलाई झगडा र मारमुङ्ग्री मच्चाइदिने । सीट नपाएकोले जान्न म त पैसा फिर्ता दे भन्यो भने सकेसम्म नदिने । कथम् दिनै परे आधा पैसा काटेर मात्रै दिने र बाटैमा अलपत्र पारिदिने । फेरी आर्को गाडि चढ्न मुस्किल पारिदिने । यो चौथो सिण्डिकेट ।
पाँच – लामो दूरीका गाडिमा चढेको बेला पसेन्जरहर्लाई दिशा पिसाव लाग्यो भने पनि रोकिदेऊ भनेको ठाउँमा नरोकेर तिनको दिशा पिसाव पेट भित्रै थुनेर सिण्डिकेट लाउने । डाइबर र उसका आसेपासेले चाहिँ जाँ पायो त्यैँ रोकेर छिटो पुग्नु पर्ने पसेन्जरलाई हैरान पारेर सताउने । यो पाँचौ सिण्डिकेट भयो ।
छ – लामो दूरीमा हिँडेको बेला भात खाने ठाउँमा पनि डाइबर र तिनका मालिकले तोकेको ठाउँमा लगेर गाडि रोक्ने । अनि खाए खा नखाए घिच भनेर घिचाउने । खाना पनि भैँसीले खाने दाना जस्तो बासी कासी सासी घिच्न पर्ने । अनि पैसा तिर्नेबेला फेण्टै भएर ढल्ने जस्तो पैसा तिराउने । त्यो पनि समयमा भे हुन्थ्यो । रातीको समयमा बार एक बजेतिर र दिउँसकाले पनि एकदुई बजेतिर । त्यतिबेलासम्म त हामी नेपाली मनुखेको त भोक पनि मरेर सुकेर पाताल धसिइसकेको हुन्छ । त्यै पनि भुँडीलाई सकुशल घर पु¥याउनका लागि खाइदिनै पर्ने । आपूmहर्ले भित्र गएर केके जाति खाने र उल्टै होटेल मालिक (बैधानिक लुटेरा, किनकि खाना नास्ताको नाउँमा पसेन्जरबाट गाडिको आधा भाडा जति पैसा असुल्ने भएकाले) बाट कमिसन खाने । यो छैटौँ सिण्डिकेट भयो ।
सात – एउटा बसपार्कमा जतिवटा समितिका गाडि भे पनि एउटै डायलमा चल्ने हुँदा तिनरुले भनेकै समयमा, तिनरुले भनेकै सिटमा, तिनरुले मागेकै भाडामा र तिनरुले भनेकै गाडिमा चढ्नु पर्ने । यो सातौँ सिण्डिकेट भयो ।
आठ – टिकेट काट्न सबै भन्दा पहिला गएपनि सिट चार्टका अगाडिका सिट सबै कोतरेर देखाउने र अगाडिका सिट सबै गैसक्या छन् भनेर पछाडिबाट टिकेट काट्न वाध्य पार्ने । पछि काउण्टरका कारिन्दा र डाइबरका आफ्ना पसेन्जर आए भने तिनलाई राम्रा सिटको टिकेट काटिदिने । बस हिँडिसकेपछि पनि अगाडिका सिट खाली नै भयो भने पछाडिका सिटमा बस्न वाध्य भा’को पसेन्जरले अगाडि खाली रैच म अगाडि बस्छु भन्यो भने उसलाई तिम्रो जाँ टिकेट काट्या छ त्यैँ बस भन्ने । अगाडि खाली हुँदाहुँदै किन मलाई पछाडिको सिट दे’को भन्यो भने त्यो कण्डक्टरले यो मैले ग¥या हैन भनेर उम्किने । अगाडि बस्नै नदिने । बाटामा छोटा छोटा दूरीकालाई चढाएर बसाल्ने । यो आठौँ सिण्डिकेट भयो ।
नौ – लामो दूरीको गाडि स्पेसल, ननस्टप आदि भनेर लेख्ने । गाडि चल्यो भने ददस मिटेरमा रोक्दै बोरामा आलु कोचेझैँ पसेन्जर कोचेर आठ घण्टामा पुग्ने ठाउँमा सोर घण्टा उस्तै परे डेढ दुई दिन लगाएर परेसान खेलाउने । यो नबौँ सिण्डिकेट भयो ।
दस – भाडा लिनेबेला एसी, फ्रि वाइफाइ, खानाको व्यवस्था, पानी र खाजाको केके जाती सुविधा भनेर साधारणको भन्दा चार पाँच सय बढ्ता लिने । बस हिँडेपछि एसी चलाऊ भनेर पसेन्जरले धेरै समयसम्म झगडा गर्नु पर्ने । बल्लबल्ल एसी लगाउने तर आधा घण्टा नहुँदै बन्द गरेर उकुसमुकुस पारेर सताउने । वाइफाइको नेटवर्क देखिने तर कनेक्सन नहुने । खाना खाने वेला साधारण गाडिसँगै भैँसीको दाना जस्तो घिचाउने । यो भयो दसौँ सिण्डिकेट ।
यसरी सिण्डिकेट कति हो कति बेहोर्नु पर्छ पसेन्जरले । सर्कार लागेर तिनको ढाड भाँच्न त खोज्यो । हाम्रो लागि त खुच्चिङ भन्न पाइयो । अघि गाउँमा कसैलाई गालि गर्नु प¥यो भने तेरा घरमा सर्कार लागोस् भन्थे । ऐले यी सिण्डिकेटेहर्लाई सर्कार लागेर ठिक भेटायो ।
सर्कारले यिनलाई डण्डाको सिण्डिकेट लगा’को त पसेन्जरले दुःख पाए भनेर हैन । यी सिण्डिकेटधारी व्यवसायीहर्ले आपूmहर्ले मात्रै कमाए हाम्लाई कर तिरेनन् भनेर हो । यो लुटेरा सर्कारलाई कर तिरुन कि न तिरुन हामी पसेन्जरलाई तातो न छारो । बाल मतलव । यिनरुले पनि सर्कारमा बसेर सरकारी ढिकुटी लुटेकै छन् । भीख मागेर ल्या’को पनि खाएर सकेकै छन् । भुकम्पले थलिएकालाई दाताले दिएको त्रिपाल समेत लुछालुछ गर्नेले बजेट के बाँकी राख्ते । पसेन्जरले सिटामोल नपाएर मरिरहेका छन् । सुत्केरीहर्ले सिस्नो समेत खान नपाएर मरिरहेका छन् । यी सर्कारमा बसेका लुटेराहर्लाई सिगान आएपनि विदेश गएर आक्तोमुलोमै करोडौँ खर्च गर्चन् । यो जानेमानेकै कुरो हो ।
त्यसैले गाडिवालाहरू सिण्डिकेट लाउने शेर भएर देख्लास् सर्कार हाम्रो तागत भनेर एकदिन गाडि चलाउन रोके । सर्कार के कम । ऊ त झन् सवा शेर भएर पुलिसवाला सिण्डिकेट लाएर दसवीस जनालाई कोचकाच पा¥यो । ऐले पनि यिनरुलाई सवाशेरको हुङ्कार के ग¥या थ्यो तलका सिण्डिकेटेहरू एकै दिनमा लत्रेर रुझेको विरालुझैँ भएर म्याउँ गर्दै गाडि चलाउन थाले ।
यो सवाशेरको लाइसन दे’को पनि तिनै तलका सिण्डिकेटे र तिनका आसेपासेहर्ले नै हो क्यारे । यो सवाशेरको सिण्डकेट पनि कम्ता छ र ? कति छन् कति । गनिसाध्यै छैन ।
एक – सर्कारी उद्योग जति तिनका बाउको अङ्स पा’को सम्पत्तीझैँ बेचेर नीजि उद्योगलाई मनपरी सिण्डिकेट लाउन दिए । आफ्नो देशको उत्पादन बन्द गराएर आर्काको मुलुकबाट सामान ल्याएर हाम्लाई महङ्गोमा किन्न वाध्य पारेको छ । यो पनि सर्कारकै सिण्डिकेटले हो ।
दुई – जताततै दलाल भर्ती गरेर हुँदाहुँदा सर्कार आफैँ दलाल बनेर रैती मनुखेलाई जहाँ पनि लुटेको छ । यो पनि सिण्डिकेटै हो ।
तीन – शिक्षा, स्वास्थ्यमा पनि सर्कारमा बसेका र तिनका आसेपासेहर्लाई नीजि खोल्न लगाएर सरकारी बन्द गराएर रैतीलाई लुट्न लगा’का छन् । र तिनबाट कमिसन हसुरेका छन् । रैतीले ओक्तोमुलो गर्नै नसक्ने र लालाबाला पढाउनै नसक्ने गरी पैसो असुल्न छुट दिएको छ ।
चार – सर्कारमा बसेका र बसिरहेका पाटीका लाउकेहर्ले एनजीओ र आइएनजिओहरू खोलेर विकासे कनिका छरेर बाहिरबाट आ’को र ह्याँको बजेट जति सबै हसुरेका छन् र देश झन् पछि झन् कङ्गाल बनाइराख्या छन् । यो पनि सिण्डिकेटै हो ।
पाँच – ऐले त झन् तलदेखि माथिसम्म तीन्टा सर्कार बनाएर रैतीलाई कर बढाएर, महङ्गी बढाएर रैतिहर्को हुर्मत लिएका छन् । यो सिण्डिकेट कस्ले तोड्ने ?
छ – काठमाण्डुको सिँहदर्बार गाउँसम्मै पु¥याएर डुङ्गुरका डुङ्गुर भ्रष्टाचार गरेका छन् । थानीय सर्कारलाई छोइ नसक्नु छ । विकासका नाउँमा आफैले डोजर किनेर आफ्नै हनुमानहर्को उपभोक्ता समिति बनाएर बजेट जति हसुरेका छन् । यो सिण्डकेट कस्ले हटाउने । यी त नमुना मात्रै हुन् सवाशेरको सिण्डिकेट । यस्ता त कति छन् कति । हजार भन्दा बढ्ता होलान् । एकएक गर्दै गन्ने हो भने । हजार जिह्वा भएका शेष नागले त गन्न सक्दैन यो नाथे कैलुब्राहले के सक्थ्यो । यस्ता शेर र सवा शेरवाला सिण्डिकेटेहरू पाल्ने हामी रैती मनुखे हैन ? बल्ल स्वाद भेट । यस्तालाई चुनाउमा लाइसन दिएर लुट्न पठाको हाम्ले हैन । लु……खा ।