–सन्तबहादुर नेपाली
नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले प्रवक्ता राम प्रकाश पुरीको नामबाट “थप स्पष्टिकरण” भनेर २०७६ फागुन २४ गते एउटा लामो लेख लेख्नु भएको छ । त्यो लेख क. मोहनविक्रम सिंहको हो भन्दा उहाँमाथि अन्याय हुने छैन । किनकि त्यसमा उहाँले लेख्नु भएको छ, “जहाँसम्म मलाई सम्झना छ, केन्द्रीय समितिमा नेपालीले पनि थापामाथिको त्यसप्रकारको कारवाहीको पक्षमा नै भोट दिनु भएको थियो ।” क. थापाजीलाई ६ महिनाको निलम्वन गर्दा म हाँक साप्ताहिकको पार्टीको तर्फबाट सल्लाहकार वा अध्यक्ष के थिएँ, याद भएन । यो कुरा २०६६ साल तिरको हुनु पर्छ । त्यसपछि नै पुरीजी केन्द्रीय समितिमा आउनु भएको थियो ।पार्टी केन्द्रीय समितिमा नभएको मान्छेले “जहाँसम्म मलाई सम्झना छ, …………” भनेर लेख्ने प्रश्नै आउँदैन । त्यसकारण का. पुरीलाई उद्धृत गरेर मैले लेखबारे चर्चा गरे भने उहाँमाथि अन्याय हुनेछ ।
त्यसकारण क. पुरीको नामबाट आएको त्यो लेखबारे चर्चा गर्दा क. एमबी कै नामलाई आधार बनाएर चर्चा गरिनेछ । उक्त लेखलाई साङ्गोपाङ्ग अध्ययन गर्दा त्यो सन्तबहादुर नेपालीको चरित्र हत्यासित सम्बन्धित छ । यसप्रकारको चरित्र हत्याको राजनीति क. एमबीले गर्नु होला भनेर मैले कमै आशा गरेको थिएँ । पाँचौं महाधिवेशनमा उहाँको चारित्रिक प्रश्नमा सात दिनसम्म छलफल चलेको थियो । वैद्य जी, प्रचण्डजीहरुले “गल्तीको ढाकछोप” र क. मोहनविक्रमले “मध्यपन्थी कमजोरी” नामक दुईवटा दस्तावेज प्रस्तुत गरिएका थिए । यद्यपि मैले हाम्रो जिल्ला बाहेकका कसैलाई पनि चिन्दिनथें, म अन्ततः “मध्यपन्थी कमजोरी” नामक प्रस्तावलाई समर्थन जनाएँ । किनकि कसैको चरित्रको बारेमा छलफल गरेर कम्युनिस्ट आन्दोलनलाई पुग्ने फाइदा केही देखिन । म अहिले पनि अर्काको चरित्र हत्याको राजनीति गरेर राजनीतिमा आफूलाई अब्बल सावित गर्ने मानिसलाई मैले घृणा गर्छु । क. मोहनविक्रम सिंहलार्ई अल्पमत पक्षमा उभिएर समर्थन गर्नुको पछाडिको कारण मेरो यत्ति मात्र थियो । मैले उहाँलाई पनि व्यक्तिगत रुपमा चिन्दैनथें ।
त्यतिबेला तात्कालिन महामन्त्री क. मोहन वैद्यजी हाम्रो जिल्ला अर्घाखाँची पुग्नु भएको थियो । म जिल्ला पार्टी सेक्रेटरी थिएँ । राती बैठक बस्यो । महामन्त्रीले मोहन विक्रमजीको प्रसंग उठाउनु भयो । बैठक नसकिंदै उहाँहरु विहान उठेर हिंड्नु भयो । अर्घाखाँचीको सिंगो जिल्ला पार्टीले चारित्रिक विषयलाई राजनीतिसित जोड्ने कुरालाई अस्वीकार ग¥यो । पछि म केन्द्रीय समितिमा पुगेपछि पनि हामीले कसैको चारित्रिक कुराहरु सार्वजनिक गर्नुलाई गलत बतायौं । अझ विशेष गरेर महिलाहरुको सम्बन्धमा त हामीले कडा नीति नै बनायौं । कुनै चारित्रिक घटनाहरु हुन सक्छन् । त्यो अवस्थामा कसुर अनुसारको सजाय गरे पछि त्यो कुरा त्यही सिद्धिन्छ । त्यसलाई बारम्बार उठाउनुले व्यक्तिगत मात्र होइन, कम्युनिस्ट आन्दोलनलाई पनि क्षति पुग्छ । चारित्रिक कमजोरी जब प्रवृत्तिमा पुग्छ, त्यतिबेला त्यो पार्टीको लागि घातक हुन जान्छ । त्यसबेला चारित्रिक कुरा हो भनेर छोड्ने कुरा हुन्न । तर राजनीतिक लडाई जित्न नसकेपछि चरित्र हत्याको राजनीतिको सहारा लिनुलाई सही मान्न सकिन्न । राजनीतिमा त्यो असहायपन र कायरता मात्र हुन जान्छ । क. एमबी सिंहले पाँचौं महाधिवेशनको ३४ वर्षपछि प्रचण्डजी, वैद्यजीहरुले पाँचौं महाधिवेशनपछि अपनाएको चरित्र हत्याको राजनीतिको पुनरावृत्ति गर्नु भएको छ ।
जहाँसम्म मेरो चरित्रसम्बन्धी विषय छ, धेरै साथीहरुलाई प्रष्ट थाहा छ । नयाँ साथीहरुलाई थाहा नहुन सक्छ र क. एमवीको वक्तव्यले म प्रति आश्चर्य र घृणा जगाएको पनि हुन सक्छ । तर वास्तविकता बेग्लै छ । म शुरुदेखि के विश्वास राख्दछु भने एउटा कम्युनिस्ट पार्टीको सदस्य खुला किताब हुनैपर्छ, पार्टी भित्र । पार्टी बाहिर ढाँट्न पनि सकिन्छ । वर्ग दुश्मनसँग खुला किताब हुन आवश्यक छैन । तर पार्टी्भित्र रहस्यमयी बन्नु हुँदैन । पार्टी्भित्र सबै कुरा खुला हुनुपर्छ । मेरो विषयमा धेरै साथीहरुलाई थाहा छ । तैपनि सबै कुरा तल्ला समितिहरु समक्ष पुगेको छैन । नेतृत्वका साथीहरुले मेरा विरुद्ध कुरा लैजानु भएको छ । मेरो तर्फबाट आफ्नो कुरा तल गएको छैन । अब सबै कुरा पार्टी्भित्र जानकारी गराउन आवश्यक छ । तर प्राविधिक समस्या छ । मैले पार्टीका साथीहरुलाई सम्पर्क गर्न मिल्दैन । त्यो अवस्थामा मैले हरेक जिल्ला पार्टीको खुला कार्यालयमा वा प्रवक्तालाई मैले ०६९ सालमा केन्द्रीय समितिमा प्रस्तुत गरेको निवेदन उपलब्ध गराउने छु । वास्तविक रुपमा कथित एसएमएसमा मेरो कसुर थियो वा षडयन्त्र गरिएको थियो ? मैले कुन अवस्थामा “होला” भनेको थिएँ र त्यसैलाई आधार बनाएर “स्वीकार गरेको भनेर पी.वी.मा र त्यसपछि सी.सी.मा लगिएको थियो ?त्यो सबै कुरा त्यही निवेदन बोल्ने छ । निवेदनमा छानवीन समितिको माग गरिएको छ । त्यो माग पूरा नभएपछि ३ वर्षपछि ०७२ ससालमा केन्द्रीय जिम्मेवारीबाट म हटेको हो ।
उहाँले लेख्नु भएको छ, ‘उहाँलाई कुनै जिम्मेवारी दिइएन भनेर भन्दै हिंड्नु भएको छ । जसको मतलब हुन्छ उहाँलाई पार्टीको माथिल्लो पदमा लगिएन” एमबीजीलाई याद होला म पीवीएम र राजमोको महासचिव जस्तो पदमा बसेको मान्छे म आफै ०७२ सालमा स्थानीय स्तरमा काम गर्ने भनेर केन्द्रीय जिम्मेवारीबाट हटेको हुँ । अहिले पनि क. एमबीको प्राधिकारवादी र स्वेच्छाचारी प्रवृत्ति कायम नै छ । यो अवस्थामा “माथिल्लो पदमा लगिएन” भनेर कुण्ठा पाल्नु भनेको मेरो मुर्खता हुनेछ । म जिल्ला पार्टीको काम गर्नका लागि जिल्ला समितिको एउटा सदस्यसम्म बस्न खोजेको सत्य हो । त्यो पनि ०७२ सालको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार काम गर्न खोजेको हो । पार्टीबाट निस्कासन गरेपछि अब मलाई क. एमबीले पदलोलुप देखाउन खोज्नु भएको छ । त्यो सरासर गलत हो । मलाई निष्कासन गरिएकोमा कुनै दुःख छैन । बरु गर्व यो कुरामा छ कि म निष्काशन भए पनि म आम जनता र साथीहरु कै बीचमा पत्रिका सम्बन्धी काम गरिरहेको छु । यसै कामलाई क. एमबीले मलाई पार्टी फुटाल्न लागेको देख्नु भएको छ । मलाई उहाँले अनुशासन नमान्ने मानिसको रुपमा उल्लेख गर्नु भएको छ । मैले २०२६ सालदेखि पार्टीमा काम गर्दै आएको छु । ५० वर्ष लामो राजनीतिक जीवनमा अनुशासनविहीन नहुने, तर अहिले अनुशासनविहीन कसरी भइयो ? यो चीजलाई हेर्ने फरक शैलीका कारणले हो । क. एमबीले कम्युनिस्ट अनुशासनको नाममा भिन्न मत राख्नेलाई अनुशासन अधिभूतवादी ढंगले लागु गर्न चाहनु हुन्छ । जसका कारण यो स्थिति उत्पन्न भएको हो ।
क. एमबीले मलाई विगतमा फुटेर गएकाहरुलाई जस्तै दक्षिणपन्थी हुने भविष्यवाणी गर्नु भएको छ । म र अन्य निष्कासित साथीहरु फुटेर गएका छैनौं । निष्काशित गरिनु र फुटेर जानु अलग कुरा हुन् । हामी अहिले निष्कासित हौं । फरक विचार भएपछि बस्न र टिक्न नदिए पछि हामी के गर्ने ? हामी पार्टी छोडेर भागेका छैनौं । पार्टी लाइनका बारेमा हाम्रा मतभेदहरु छन् । तैपनि महाधिवेशनको लाइनलाई मानेर जाने भन्दा भन्दै पनि क.एमवीले एक वा अर्को बहानामा एक एक गरेर पार्टीबाट सफाया गर्दै हुनुहुन्छ । रुपन्देहीमा म पराजित भएको कुरा बडो गर्व साथ एमबीले प्रस्तुत गर्नु भएको छ । तर त्यहाँ मलाई जिल्लामा आउन नदिन के के हथकण्डा अपनाउने काम भयो भन्ने कुरा त जगजाहेर छ । तर ती सबै कुराले मलाई कुनै फरक पारेको छैन । त्यसलाई स्वाभाविक ठानेको छु । मेरो कसैसँग पूर्वाग्रह छैन ।
अहिलेसम्म पार्टी्भित्रका मतभेदहरुका कारण पार्टी्भित्र बस्नै नसकिने अवस्थाछैन । पार्टी्भित्र मतभेद कायम राखेर काम गर्न सकिने अवस्था छ । क. माओ लामो समयसम्म छन् तु स्यु, वाङमिङ र लिलिशानहरुको नेतृत्व मानेरै काम गर्नु भएको थियो । तर हामीले महाधिवेशनको लाइन मानेर काम गर्छौंं भन्दा पनि कथित अनुशासनको डण्डा वर्षाउन छोड्नु भएन । दर्जनौं साथीहरुलाई भूमिकाविहीन बनाइरहनु भएको छ । हामीलाई निष्काशित गरिसकेपछि पनि हामीमाथि पार्टी फुटाल्न लागेको आरोप लगाउनु भएको छ । हामीले बाहिर बसेर पार्टी नीतिलाई सहयोग गर्छौं भन्दा पनि हामीलाई दुश्मनको कित्तामा उभ्याउन खोजिरहनु भएको छ । भोलि बहुमतको लाइन झन्पछि झन् दक्षिणपन्थी सुधारवादी बन्दै गयो र सुधार्ने आशा समाप्त भयो भने म मात्र होइन, थुप्रै साथीहरु पार्टीमा बस्न सकिने अवस्था रहँदैन । त्यो बेला एउटा क्रान्तिकारी पार्टी निर्माणको सम्भावनालाई कसैले इन्कार गर्न सक्दैन । तर अहिले म लगायतका कमरेडहरु निष्काशित भए पनि बाहिरै बसेर पनि पार्टीलाई सहयोग गर्नुपर्छ भन्ने नै हो । हाम्रो अर्को कुनै उद्देश्य छैन । क. एमबीको निष्कासितहरु फुटेर पार्टी बनाएर जाउन भन्ने जतिसुकै शुभकामना भए पनि कोही फुटेर जाँदैन । क. एमबीको यो मुराद पूरा हुँदैन ।
अहिलेसम्म पार्टी लाइनलाई मानेर अगाडि बढिरहेको बेला क. एमबीले एउटा सांस्कृतिक कार्यक्रम परिचालन गर्न बनेको समितिलाई पार्टी बनायो भनेर डंका पिटनु भयो र अन्धाधुन्ध आक्रमण शुरु गर्नुभयो । क. एमबीको यो पुरानै रोग हो, हामीले यसलाई स्वाभाविक रुपमा लिएका छौं । हामी अझै पनि बसेर छलफल गर्न सक्छौं । यो पार्टी निर्माणमा हामी धेरै साथीहरुको पसिना बगेको छ । क. एमबीले पार्टीलाई नीजि सम्पत्ति जस्तो ठान्नु भएको छ भने त्यो भूल हुुनेछ ।
क.एमबी चरित्र हत्याको राजनीतिमा उत्रेपछि हामी पनि उहाँको चरित्र हत्या गर्न नैतिक बन्धनबाट फुकुवा भएका छौं । तर व्यक्तिगत चरित्र हत्यामा उहाँ उत्रे पनि हामी त्यसप्रकारको चरित्र हत्याको राजनीतिमा उत्रदैनौं । हामीले यदि चारित्रिक कुरा उठाउने हो भने हाम्रो पार्टीप्रति नै जनताको विश्वास टुट्ने छ । विगतमा उहाँकै चारित्रिक कुराले थुप्रै इमान्दार कार्यकर्ताहरु पार्टी छाडे । कैयौं मानिसहरु उहाँ कै कुराले हाम्रो पार्टीमा आउन चाहेनन् । यो तितो सत्यबाट पनि हामीले पाठ सिक्नु राम्रो होला । कैयौं साथीहरु चुप लागेर बस्नु भएको छ । यसलाई यदि एमबीले कमजोरी ठान्नुभयो भने पनि त्यो भूल हुनेछ । तर उहाँका दक्षिणपन्थी राजनीतिक विचारबारे आलोचना गर्ने वा नगर्ने भन्ने विषयमा हामी विचार गर्दैछौं । उहाँलाई पार्टी चाहिन्छ वा चाहिंदैन हामीलाई थाहा छैन । किन कि कैयौं पटक दर्जनौं साथीहरुको बीचमा भन्ने गर्नु भएको छ “विश्व कम्युनिस्ट आन्दोलनमा कैयौं पार्टी कोल्याप्स (विसर्जन) भए, हाम्रो पार्टी पनि विसर्जन हुन सक्छ ।” तर हामी शोषित पीडित दलित उत्पीडित सर्वहारावर्गलार्ई सच्चा कम्युनिस्ट पार्टी चाहिन्छ । त्यसकारण हामीमाथि थुप्रै उत्पीडित जनताको भरोसा छ । त्यो भरोसा माथि कुठाराघात गर्न चाहन्नौं ।
म अन्तमा पुनः अनुरोध गर्दछु । मैले जिम्मेवार पी.वी.एम. कमरेडलार्ई फोन मार्फत् अनावश्यक आरोप प्रत्यारोप बन्द गर्नका लागि बसेर छलफल गरौं भनेको छु । फागुनको १७ गते पार्टीको वक्तव्यपछि १८ गते एक जना पीवीएम कमरेडलाई फोन मार्फत् भेट हुने कुरा राखें । उहाँले भेट हुने र छलफल गर्ने विषयमा सकारात्मक संकेत दिनु भएको थियो । तर क. एमबीले त्यसलाई बेवास्ता गर्नुभयो । मैले ३ दिनसम्म पर्खेर २० गते वक्तव्य जारी गरें । अहिले पनि पार्टीलाई व्यवस्थित पार्न के के गर्न सकिन्छ । निष्काशित र अनिष्काशित सबै कमरेडहरुले विचार गरौं । पार्टीको हितलार्ई केन्द्रमा राखेर काम गर्ने हो भने सबै कुरा व्यवस्थित हुनेछ । व्यक्तिगत इगो र महत्वकांक्षालाई केन्द्र मान्ने हो भने समाधानको बाटो देखिंदैन । कुन कुराको हितलाई केन्द्रमा राख्ने ? त्यो कुरा प्रति गम्भीर हुन म सम्पूर्ण कमरेडहरुलाई अनुरोध गर्दछु । (साभार:-हाँक साप्ताहिक)