एजेन्सी । सन् २०२५ को पहिलो उल्कावर्षा यही साता उत्कर्षमा पुग्न लागेको छ । ’ क्वाट्र्यान्टिड्स’ -Quadrantids_ नाम दिइएको यो उल्कावर्षा ज्यानुअरी ३ र ४ को राति (शुक्रवार र शनिवार) खाली आखाले नै देखिने छ । डिसेम्बर २८ मा सुरु भएको उल्कावर्ष ज्यानुअरी १२ सम्म जारी रहने छ । इन्टरन्याश्नल मीटिओर अगर्नाइजेशन (आईएमओ)का अनुसार यो उल्कावर्षा “यो वर्षकै सर्वोत्कृष्ट हुन सक्छ“।
उल्कावर्षा उत्कर्षमा पुगेको समयमा अवलोकन गर्ने राम्रो अवस्थामा भएमा एक घण्टामा १२० वटाजति “आगोका चम्किला गोला“ खसेको देखिने अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । त्यस क्रममा उल्काबाट उत्सर्जित कणहरू पृथ्वीको वायुमण्डलमा ४० किलोमिटर प्रतिसेकन्डको गतिमा प्रवेश गर्ने छन् ।
तर आईएमओका अनुसार “अधिकतम गतिविधि हुने समय (छ घण्टा मात्र) छोटो हुदा भएकाले र ज्यानुअरी महिनाको सुरुतिर मौसम राम्रो नहुने भएकाले“ अपेक्षा गरे जस्तो नहुन सक्छ । अठारौ शताब्दी सकिनै लाग्दा ताराहरूको एउटा समूहलाई नक्षत्र मानेर ’क्वाड्र्यान्स म्यूरालिस’ नामकरण गरिएको थियो । त्यही तारामण्डलका आधारमा उल्कावर्षाको नाम ’क्वाड्र्यान्टिड्स’ राखिएको हो ।
यो उल्कावर्षा पहिलो पटक इटलीका खगोलविद् आन्टोनिओ ब्रुकालास्सीले सन् १८२५ मा पत्ता लगाएको ठानिन्छ । उनले आकाशको त्यो भागबाट चम्किला उल्काहरू निस्किएको देखेका थिए ।
“खसेका तारा भनिने कैयौ जाज्वल्यमान् वस्तुहरूले वायुमण्डल पार गरेका थिए,“ उनले टिपोट गरे ।
अधिकांश उल्कावर्षा बरफ र धुलोबाट बनेका धूमकेतु वा पुच्छ्रेताराबाट उत्पन्न हुन्छ । तर ’क्वाड्र्यान्टिड’ चाहिँ चट्टानयुक्त क्षुद्रग्रहका अवशेषहरूका कारण उत्पन्न हुने थोरै उल्कावर्षामध्ये पर्छ ।
क्वाड्र्यान्टिड उल्कावर्षा ज्यानुअरी १२ सम्म देखिन सक्छ । क्वाट्र्यान्टिड्स उत्तरी गोलार्धबाट राम्ररी देखिन्छ । उल्काहरू उत्पन्न भएजस्तो देखिने बिन्दु उक्त स्थानमा क्षितिजबाट निकै माथि हुन्छ । आईएमओका अनुसार “भूमध्यरेखाको दक्षिणपट्टिबाट यो गतिविधि निकै कम“ देखिने छ । पृथ्वीको दक्षिणी गोलार्धबाट हेर्दा उल्काहरूको उद्गमबिन्दु क्षितिजभन्दा निकै तल वा नदेखिने ठाउमा हुन्छ अनि केही भागमा ग्रीष्मकालीन रातहरू निकै छोटा हुन्छन् ।
आकाशमा उल्का जहाँ पनि देखा पर्न सक्छ। तर हेर्न उपयुक्त चाहिँ क्षितिजमाथि दुईतिहाइ भाग हो । किनभने त्यहाँ वायुमण्डल पातलो हुन्छ।उल्का जहाबाट पनि देखिन सक्छ । तर सहरी भेगभन्दा टाढा ’प्रकाश प्रदूषण’ कम भएको ठाउबाट हेर्दा राम्ररी देखिन सक्छ । “आकाश जति अँध्यारो हुन्छ, कम चम्किला उल्काहरू पनि देखिने सम्भावना उति नै बढी हुन्छ,“ लन्डन न्याचरल हिस्ट्री म्यूजीअममा कार्यरत ग्रह तथा उल्का विशेषज्ञ डा एश्ली किङ भन्छिन् । पूर्णिमामा आकाश उज्यालो हुने भएकाले उल्का देख्न कठिन हुन्छ। उल्कावर्षा औँसीको सेरोफेरोमा उत्कर्षमा पुग्न लागेको छ भने राम्ररी देखिने सम्भावना बढी हुन्छ। यसपालि उल्कावर्षा उत्कर्षमा पुग्ने मितिमा शुक्लपक्षको चन्द्रमा साझपख नै अस्ताउने हुदा चन्द्रमाको उज्यालोले अवलोकनमा प्रभाव पार्ने सम्भावना न्यून छ । उल्का खसेको हेर्न विशेष उपकरण चाहिदैन । बरु धैर्य चाहिँ अत्यावश्यक हुन्छ ।
त्यसैले सहरको उज्यालोबाट टाढा जानुहोस् र पूर्वोत्तर आकाशतिर फर्किएर उत्तानो परी ढल्कनुहोस्। अँध्यारोतिर हेर्दै १५–२० मिनेट बिताएपछि आँखाहरू उल्का हेर्न अनुकूल बन्छन् ।
“सुरुमा १० मिनेटजति तपाईँले केही पनि नदेख्न सक्नुहुन्छ,“ डा किङ भन्छिन् ।
उल्कापात हुनुलाई “तारा खसेको“ भनिने भए पनि उल्काहरू तारा हैनन् । वास्तवमा ती हाम्रो सौर्यमण्डल उत्पत्ति हुदाका अवशेषहरू हुन् । पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा ती जल्छन्।
अधिकांश उल्काहरूमा बालुवाको दानाजत्रै वा त्योभन्दा साना धुलोका कणहरू हुन्छन्। उल्काहरूको वेग निकै धेरै हुन्छ । “ती उल्कापिण्डहरूे अन्तरिक्षको रिक्त स्थानबाट बाहिर आएर पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि धुलोको त्यो सानो कणले वायुमण्डलमा भएका कणहरू र आयनहरूसँग अन्तरक्रिया गर्छ । घर्षणका कारण त्यो तात्छ र हामीले देखिने उज्यालो उत्पन्न हुन्छ,“ डा किङ भन्छिन् ।
क्वाट्र्यान्टिड्स उल्का प्रायः नीलो रङ्गको देखिन्छ र त्यो खस्दा त्यसको पछाडिपट्टि आएको बाटोमा पुच्छरजस्तो आकृति देखिन्छ
पुच्छ्रेतारा वा क्षुद्रग्रहले छोडेका साना अवशेषहरू भएको ठाउमा पृथ्वी पुगेपछि उल्कावर्षा हुन्छ । उल्कावर्षाको उत्कर्ष चाहि अवशेषहरूको प्रवाह सघन भएको ठाउमा पुग्दा हुन्छ । त्यही बेला उल्का सर्वाधिक सख्यामा खसेको देखिन्छ । यसपालि क्वाड्र्यान्टिड्स देखिएन भने पनि यो वर्ष अरू उल्कावर्षाहरू पनि हुदै छन् । ती मध्ये केही दक्षिणी गोलार्धमा पनि देखा पर्ने छन् ।