उत्तर कोरियाबारे छलफल गर्न चिनियाँ विदेशमन्त्री जापानमा

860
views

एजेन्सी टोकियो, ३ वैशाख । उत्तर कोरियाबारे छलफल गर्न चिनियाँ विदेशमन्त्री जापान पुगेका छन् । उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच छलफल भइरहेका वेला चिनियाँ विदेशमन्त्री वाङ सी जापानको राजधानी टोकियो पुगेका हुन । यसै महिनाको अन्त्यतिर उत्तर र दक्षिण कोरियाबीचको शीर्ष तहमा छलफल हुँदैछ ।

वाङले विदेशमन्त्री एवं आफ्ना समकक्षी तारो कोनोसँग भेटवार्ता गर्ने कार्यक्रम छ । केही साताअघि पनि तारो र वाङबीच बेइजिङमा छलफल भएको थियो । यसपटकको भ्रमण विशेषगरी उत्तर र दक्षिण कोरियाबीच विकसित पछिल्लो घटनाक्रमबारेमा केन्द्रित हुने जनाइएको छ ।

गत फेब्रुअरीमा दक्षिण कोरियामा सम्पन्न हिउँदे ओलम्पिकपछि दुई कोरियाबीचको सम्बन्धमा केही सुधार आएको छ । तीन साताअघि मात्र उत्तर कोरियाली नेता किम जोङ उनले चीनको भ्रमण गरेका थिए । निकै दुर्लभ मानिएको उनको सो भ्रमणले विश्व समुदायको ध्यानाकर्षण गरेको थियो । किमको चीन भ्रमणपछि दुई कोरियाबीच द्विपक्षीय भ्रमण आदानप्रदान भएको थियो । यसै महिनाको अन्तिमतिर उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरीय सम्मेलन हुने कार्यक्रम छ ।

त्यसैगरी अमेरिका र उत्तर कोरियबीच पनि यसै महिना वार्ता हुँदै छ । उत्तर कोरियाली नेता किम जोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मे महिनामा शिखर वार्ता हुन लागेको हो । अमेरिकासँग उत्तर कोरियाको वार्ता, उत्तर र दक्षिण कोरियाबीचको उच्चस्तरीय सम्मेलनलगायतका विषयमा चिनियाँ विदेशमन्त्रीको जापान भ्रमण केन्द्रित रहेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । दक्षिण–पूर्वी चाइना सागरबारे चीन र जापानबीच सीमासम्बन्धी विवाद भइरहेका वेला चीनका विदेशमन्त्रीको टोकियो भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।