जिल्ला प्रशासन कार्यालय म्याग्दीले २० दिनमै राहदानी वितरण

2256
views

बेनी १२ साउन । जिल्ला प्रशासन कार्यालय म्याग्दीले २० दिनमै राहदानी पाउने ब्यवस्था मिलाउने भएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले साधारण सिफारीस मार्फत हाल ४५ दिनमा राहदानी आउने गरेकोमा अब सो अबधिलाई छोट्याउन लागिएको जानकारी दिए ।

यसै महिनाभित्र प्रशासनबाट सिधै काठमाडौ बिभागमा राहदानीको फारम पठाउने र त्यहाँबाट जिल्लामा ल्याएर वितरण गर्ने व्यवस्था मिलाउन लागेको अधिकारीले बताए । हाल पोखरा स्थित क्षेत्रीय प्रशासन कार्यालय हुदै राहदानीको आवेदन फारम बिभागमा पु¥याउने र सोही बाटो भएर जिल्लामा आउने प्रक्रिया रहेको छ ।

यसैबीच गत वर्ष म्याग्दीबाट दु्रत सेवा मार्फत राहदानी लिन एक हजार ४८६ जनाले बिभागमा जान सिफारीस लिएका थिए भने दुई हजार ६६७ जनाले साधारण प्रक्रियाबाट राहदानी सिफारीस लिएका छन् ।

राहदानी लिनेमा पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको छ । गत आर्थिक वर्षमा एक हजार ३४६ जना महिला र एक हजार २३७ जना पुरुषले प्रशासनबाट राहदानी लिएका छन् । राहदानी सिफारीस गरेवापत प्रशासनले एक करोड ४६ लाख रुपैया राजस्व संकलन गरेको छ ।

यसैबीच प्रशासनले लगातार तिन वर्षसम्म नविकरण नभएका गैरसरकारी संस्थालाई यही साउन २० गतेसम्म तोकिएको समयसिमाभित्र नविकरण नगरे खारेज गर्ने भएको छ । बेनी जोमसोम सडकमा रहेको २६ सिटे गाडीको र राहदानी फारम भर्नका लागि गरिएको सिण्डीकेटको अन्त्य गरेको छ ।

सूचनाको हकको कार्यान्वयनका लागि प्रत्येक महिना बस्ने कार्यालय प्रमुखको बैठक अघि सूचना अधिकारीको बैठक बस्ने अभ्यास थालिएको छ ।