भारी वर्षाको सम्भावना नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

623
views

काठमाडौँ, साउन– १३ आउँदो तीन दिनसम्म मनसुन सक्रिय भई मुलुकभरि भारी वर्षा हुने अनुमान गरिएको छ । बढी वर्षा हुने भएकाले नदी किनारका बस्ती र बासिन्दालाई सतर्क रहने पनि आग्रह गरिएको छ ।

मौसम पूर्वमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले आइतवारदेखि मनसुन विशेष रूपमा सक्रिय भई तीनसम्म मुलुकको अधिकांश भूभागमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षा हुने अनुमान रहेको बताउनुभयो । उहाँले तीन दिनसम्म मुलुकभरि नै पानी पर्ने भएको हुनाले सतर्कता अपनाउन सबैसँग आग्रह समेत गर्नुभयो ।
मध्य र पूर्वी भूभागमा भारी वर्षाको सम्भावना रहेको बताउँदै उहाँले पश्चिमी भूभागमा वर्षाको कम सम्भावना रहे पनि एक दुई स्थानमा भारी वर्षा हुने बताउनुभयो । मनसुनी न्यून चापीय रेखा नेपालको नजिक रहेको हुनाले मनसुन अहिले पूर्ण सक्रिय रहेको उहाँले बताउनुभयो । साँझ र रातिको समयमा बढी पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । चौबीस घण्टामा ५० मिलीमिटर भन्दा बढी र १०० मिलीमिटर भन्दा कम वर्षालाई भारी वर्षा भन्ने गरिन्छ ।
आइतबार दिउँसो र रातको दुबै समयमा देशभर सामान्यदेखि पूर्ण बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा तथा एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताउँदै उहाँले सोमबार मुलुकभरि मौसम बदली भई केही स्थानमा हल्कादेखि मध्यम खालको तथा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो ।
त्यसैगरी, जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सबैसँग आग्रह गरेको छ । शनिवार आगामी तीन दिनसम्मको बाढी बुलेटिन सार्वजनिक गर्दै शाखाले सो आग्रह गरेको हो ।
बुलेटिनका अनुसार, कन्काई, कोशी, कमला, पश्चिम राप्ती, कर्णाली, महाकाली, बबईलगायतमा जलसतह उल्लेख्य बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।