उडिरहेको विमानभित्र चालक र सहचालकबीच घम्साघम्सी

850
views

एजेन्सी । विमानचालकबीच विमानको ककपिटभित्रै घम्साघम्सी ! सुन्दा पत्यारै नलाग्ने तर विश्वास गर्न करै लाग्ने यस्तै घटना यो साता भएको छ ।

अन्तर्रा्ष्ट्रिय उडानमा रहेको इराकी एयरवेजका चालक र सहचालकबीच ३७ हजार फिटको उचाइमा खानाको ट्रेलाई लिएर विमानभित्रै कुटाकुट भएको छ । विमानचालकले हात हालाहाल गर्दा विमानभित्र ७ कारिन्दा र १५० यात्रु सवार थिए ।

इरानी सहर मसहाडबाट राधानी बग्दादका लागि उडेको विमानको ककपिटभित्र बुधबार चालक र सहचालकबीच कुटाकुट चलेको हो ।

‘अनुमति नलिएको भन्दै चालकले एयर होस्टेसलाई मलाई मिल ट्रे दिन रोक लगाएपछि चालकसँग चर्काचर्की भएको हो,’ इराकी एयरवेज व्यवस्थापनलाई सहचालकले लेखेको पत्रमा उल्लेख छ ।

पत्रअनुसार आफ्नो खाना लिएपछि चालकले सहचालकलाई कुटपिट र दुव्र्यवहार गरेका थिए । चालक र सहचालकको झगडा रोक्न विमानभित्रका सुरक्षा एजेन्टले हस्तक्षेप गरेका थिए ।

‘चालकले बारम्बार हिर्काउने र दुव्र्यवहार गरे,’ सहचालकले भने, ‘मेरो तर्फबाट पनि प्रतिकार भयो ।’ चालक र सहचालकबीच कुटाकुटको विषयलाई इराकको यातायात मन्त्रालयले जाँच गरिरहेको छ ।

दुवै चालक निलम्बनमा परेको इराकी एयरवेजले जनाएको छ । दोषी चालकमाथि जीवनभर उडान गर्न प्रतिबन्ध लाग्न सक्ने इराकी समाचार संस्थाहरूले जनाएका छन् ।

यसैबीच, सो घटनाको इराकी नागरिकहरूले सामाजिक सञ्जालमा निन्दा गरेका छन् । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले दुवै चालकलाई मिनिबसका चालकसँग तुलना गरेका छन् ।