रुद्राक्षको कृत्रिम स्वरूपबारे विवाद, स्वरुप बिगारेर बिक्री

825
views

सङ्खुवासभा । रुद्राक्ष व्यावसायीबीच रुद्राक्षको प्राकृतिक स्वरूप बिगारिएको विषयमा विवाद सुरु भएको छ । व्यवसायी सङ्घले रुद्राक्षको प्राकृतिक स्वरूप बिगार्न प्रतिबन्ध लगाएपनि केही व्यवसायीले सो निर्णयको उल्लङ्घन गरेपछि विवाद सुरु भएको हो ।

चैनपुर नगरपालिकाको खराङ र लोहाकोटमा क्लिपको सहायताले बोटमै रुद्राक्ष चेप्टाएको खबर पाएपछि व्यवसायी सङ्घका पदाधिकारी स्थलगत अनुगमनमा गएका थिए । स्थलगत अनुगमनमा पुगेका व्यवसायी सङ्घका पदाधिकारीले केही क्लिप जफतसमेत गरेका थिए ।

प्रहरी टोलीसहित अनुगमनमा पुगेको सङ्घका पदाधिकारीले रुद्राक्षको बोटमा लगाएको क्लिप जफत गरेपछि केही समय विवाद सिर्जना भएको थियो ।

केही वर्षयता रुद्राक्षकोे स्वरुप बिगारेपछि यसको नकारात्मक प्रभाव देखा पर्न थालेको रुद्राक्ष व्यवसायी सङ्घ सङ्खुवासभाका अध्यक्ष चक्र विसुङ्केको भनाइ छ । कृत्रिम स्वरूपमा रुद्राक्ष उत्पादन हुन थालेपछि राम्रो गुणस्तरको रुद्राक्षलाई पनि व्यापारीले राम्रो मूल्य तिर्न छोडेको विसुङ्केले बताए ।

नेपालमा सबैभन्दा गुणस्तरीय रुद्राक्ष उत्पादन हुन थालेपछि यसको भविष्य बिगार्नका लागि तेस्रो व्यक्ति वा शक्तिले खेल खेल्न थालेको हुनसक्ने विसुङ्केको दाबी छ ।

केही वर्षदेखि यता चिनियाँ व्यापारीमार्फत नेपाली व्यवसायीले रुद्राक्षको स्वरूप बिगार्दै आएको रुद्राक्ष व्यवसायी सङ्घले जनाएको छ । कृषकहरूबाट नेपाली व्यवसायीले बोटमै ठेक्का लिएर आफू खुसी आकार परिवर्तन गर्दै आएका छन् । यसरी आकार परिवर्तन गरिएपछि व्यवसायी सङ्घले केही महिनाअघि त्यसो नगर्न सार्वजनिक सूचना जारी गरेको थियो । गत वर्षदेखि नै सुरु भएको विवाद यस वर्ष सङ्घको सार्वजनिक सूचनाको अवज्ञा गरेपछि झन विवाद बढेको हो ।