काठमाडौंका मेयर सरकारी खर्चमा श्रीमतीसहित अमेरिका

871
views

काठमाडौं, ५ असोज । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चले श्रीमती सहित अमेरिका गएका छन् । शाक्य सडकभर पत्नी सुचिता शाक्यसहित अमेरिका गएका हुन् । ९ सदस्यिय भ्रमण टोली सहित उनी १० दिने भ्रमणमा छन् ।

सरकारी पदमा रहेका व्यक्तिको अनावश्यक विदेश भ्रमण रोक्न कडाइ गरेको बताउँदै आएपनि सरकारले सामान्य अवलोकन भ्रमणमा मेयरलाई श्रीमतीसहित लिएर जान भने स्वीकृति दिएको छ ।

सरकारले अनावश्यक वैदेशिक भ्रमण नियन्त्रण गर्न ‘वैदेशिक भ्रमण निर्देशिका २०७४’ तयार गरी कार्यान्वयनमा ल्याएको छ । निर्देशिकाविपरीत भएको मेयरको भ्रमणबारे आफूलाई जानकारी नभएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले बताए ।
काठमाडौं सहरको सौन्दर्य जोगाउन नसकेको आरोप खेप्दै आएका मेयर शाक्य नेतृत्वको टोलीले अमेरिकाको भर्जिनियास्थित फ्रेडिक्सबर्ग सहर अवलोकन गर्नेछ ।

काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध रहेको फ्रेडिक्सबर्ग सहर अवलोकनका लागि मेयरसहितको टोली गएको महानगरपालिकाका सहायक प्रवक्ता नमराज ढकालले बताए । सबैजना महानगरकै खर्चमा गएको उनले बताए । ‘उच्चस्तरीय भ्रमणमा श्रीमतीलाई समेत लैजाने महानगरको चलन नै छ । त्यहीअनुसार उहाँले श्रीमती पनि लैजानुभएको हो,’ ढकालले भने ।