मेयर र उपमेयरको मोज, सरकारी गाडीमा बिहे भोज

975
views

राप्ती, ५, असोज । जनताले तिरेको करको दुरूपयोग बढिरहेका खबर सार्वजनिक भइरहँदा राप्ती नगरपालिकामा जनप्रतिनिधिले सरकारी गाडी दुरूपयोग गरेको आरोप लागेको छ ।

राप्ती नगरपालिकाकी मेयर प्रभा बराल र उपमेयर इमानसिंह लामाले बिदाको दिनमा समेत नगरपालिकाको गाडी दुरूपयोग गरी बिहेमा गएको भन्दै जनप्रतिनिधिले सरकारी गाडी दुरूपयोग गरेको आरोप लगाएका छन् ।संविधान दिवसमा सार्वजनिक बिदा भए पनि नगरपालिकाको गाडी लिएर असोज ३ गते मेयर र उपमेयर बिहे भोजमा गएका थिए ।

नगरपालिकाका एक कर्मचारीको छोरीको बिहेमा मेयर बरालले बा २ झ २६२९ नम्बरको गाडी र उपमेयर लामाले बा २ झ ३६६६ नम्बरको गाडी लिएर रत्ननगरस्थित हरिहर बेन्क्युटमा गएका थिए ।अधिकारकर्मी एवम् नेपाली कांग्रेसका तर्फबाट उपमेयरकी प्रत्याशी अनिता मैनालीले भनिन्, ‘जनप्रतिनिधिलाई गाडी नभईकन हुँदैन, तर जनताको काम विशेषमा प्रयोग हुनुपर्छ’, उनले भनिन्, ‘त्यो मेयर र उपमेयरले स्वविवेक प्रयोग गर्ने कुरा हो । निम्न वर्गका मान्छेले पनि कर तिरिरहेका छन्, त्यसको सही सदुपयोग हुनुपर्छ ।’

राप्ती नगरपालिकामा एकलौटी ढंगले अघि बढेको र करको दुरूपयोगको विषयमा नगरपरिषद् र धर्नामार्फत विरोध जनाउँदै आएको उनले बताइन् ।बन्दमा गाडी दुरूपयोग भएको विषयमा राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले प्राविधिककी छोरीको बिहे भएकाले कार्यालयका सबैजना गएको बताइन् । उनले भनिन्, ‘नगरपालिकाकै कर्मचारीको छोरीको बिहे भएकाले बिहेमा शुभकामना दिएर आएका हौँ, ब्यानर राखेर गएको चाहिँ होइन ।’

मेयर बरालले आफूले नगरपालिकाको कामबाहेक व्यक्तिगत प्रयोजनका लागि गाडी प्रयोग नगर्ने दाबी गरिन् । उनले भनिन्, ‘म जनताकै काम गर्नका लागि हिँड्ने गर्छु । संघसंस्थाबाट बिदाकै समयमा कार्यक्रममा निम्तो आउँछ, जानैप¥यो । निजी काममा भने गाडी प्रयोग गरेको छैन ।’

उद्योग वाणिज्य संघ राप्तीका महासचिव प्रदीप उप्रेती परिस्थिति र बाध्यताका कारण मेयर, उपमेयरले बिदामा गाडी चढ्दा दुरूपयोग भनिहाल्न नहुने बताउँछन् । उनी भन्छन्, ‘हामीले जनताकै काम गर्नका लागि जनप्रतिनिधि चुनेका हौँ । त्यसको व्यवस्थापन गर्ने दायित्व पनि सुम्पिएका हौँ । उहाँहरु सबैतिर जानुपर्ने बाध्यता हुन सक्छ ।’ राप्ती पहाडी क्षेत्रमा पनि पर्ने हुँदा जनताका समस्या अनुगमन गरिरहनुपर्ने भएकाले बिदाको समयमा गाडी चढ्दा दुरूपयोग भयो भन्नु उचित नहुने उनी बताउँछन् ।

नगरपालिकाको गाडी कार्यालय प्रयोजनका लागिमात्रै प्रयोग गर्न पाइने व्यवस्था छ । तर, राप्तीमा साधनस्रोतको व्यापक दुरूपयोग भइरहेको नेपाली कांग्रेस राप्तीका नगर सभापति नारायण उप्रेती बताउँछन् । उनी भन्छन्, ‘बिहेमा दुईवटा गाडी लैजाँदा अल्लि असहज लागेको हो, सो बिहेमा म स्वयम् उपस्थित भएको थिएँ ।’ बिहेमा भन्दा पनि मेयर, उपमेयर नचढ्दासमेत बन्दमा गाडीहरु गुडिरहेको आफूले देख्ने गरेको उप्रेती बताउँछन् । राति, दिउँसो, बिहान जुनसुकै बेला निजी काममा गाडी चढ्नुपरे पनि मेयर, उपमेयरले नगरकै गाडी दौडाइरहेको उनको भनाइ छ ।

‘नगरपालिकामा जनताको पक्षमा काम भएको छैन । पार्टी सञ्चालन गरेजस्तो अवस्था छ । सीमा रेखा नाघिरहनु भएको छ’, उनले भने, ‘हामीले एक महिनाअघि ज्ञापनपत्र बुझाएका थियौँ । तर, मापदण्ड मिचिरहनुभएको छ ।’ चितवन पोष्ट