वाणिज्य दूतावासमै साउदी पत्रकारको हत्या

455
views

एजेन्सी । साउदी अरब सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा ‘हत्या’ गरिएको छ । टर्कीका स्थानीय सञ्चारकर्मी तुरान किस्लास्कीले सो दाबी गरेका हुन् । टर्किस–अरब मिडिया एसोसिएसनका प्रमुखसमेत रहेका किस्लाकीले भने, ‘वाणिज्य दूतावासका अधिकारीहरूले साथी खसोग्गीको अन्त्येष्टिको तयारी गर्न भनेका छन् ।’खसोग्गी अमेरिकाको वासिङ्टन पोस्टका लेखकसमेत थिए । साउदी राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको प्रखर आलोचक खसोग्गी अमेरिका निर्वासनमा बस्दै आएका थिए । खसोग्गी खासगरी साउदी राजकुमार मोहम्मद बिन सलमान नेतृत्वको सुधार योजनाको आलोचक थिए । विवाह दर्ताका लागि आवश्यक कागजी विवरण लिन उनी मंगलबार टर्कीको राजधानी इस्तानबुलस्थित वाणिज्य दूतावास गएको केही मिनेटमै बेपत्ता भएका थिए । खसोग्गीसँग बिहेको छिनोफानो भइसकेकी महिला पनि उनीसँगै वाणिज्य दूतावास गए पनि उनलाई कार्यालयभित्र प्रवेश गर्न रोक लगाइएको थियो । खसोग्गीले इस्तानबुलमा रहेर वासिङ्टन पोस्टका लागि रिपोर्टिङ गर्दै आएका थिए । वासिङ्टन पोस्टले उनको हत्या गरिएको खबर सत्य भए त्यो जघन्य अपराध हुने र दोषीलाई दण्डित गर्नुपर्ने जनाएको छ ।

वाणिज्य दूतावासका अधिकारीहरूले पत्रकार खसोग्गीको बर्बरतापूर्ण हत्या गरेको आफूहरूले थाहा पाएको बताएका छन् । टर्कीको भूमिमा साउदी अरेबियाकै संलग्नतामा पत्रकारको हत्या गराइएको पुष्टि भए दुई देशबीचको सम्बन्धमा चिसोपन आउने विज्ञहरूले बताएका छन् । तर, साउदी अरबका अधिकारीहरूले भने खसोग्गीको हत्या भएको भन्ने सूचना आधारहीन भएको दाबी गरेका छन् ।

टर्कीका सुरक्षा अधिकारीले खसोग्गीलाई साउदी अरबको वाणिज्य दूतावासमा मारिएको दाबी गरे । उनी मारिएको पुष्टि हुन भने अझै बाँकी रहेको विवरणहरूमा जनाइएको छ । घटनाबारे अनुसन्धान जारी रहेकाले यसबारे तथ्य छिट्टै बाहिर आउने टर्कीका अधिकारीहरूले बताएका छन् । साउदी राजपरिवारका सल्लाहकार रहिसकेका खसोग्गीले प्रेस स्वतन्त्रतामा कडाइ गरिएपछि एक वर्षअघि साउदी छाडेका थिए ।