जनकपुर–जयनगर रेल सञ्चालनको जिम्मा भारतलाई दिने तयारी

1203
views

जयनगर । जनकपुर रेल सञ्चालनको अन्तिम तयारी हुँदा नेपाल पूर्ण रूपमा भारतमै भर पर्नुपर्ने भएको छ । रेल र दक्ष चालक नहुँदा रेल्वे भारतलाई नै भाडामा दिएर सञ्चालनको तयारी थालिएको छ ।

रेल्वे निर्माणको रेखदेख अहिले रेल विभागले गरिरहेको छ । रेल चलाउने जिम्मा भने रेल्वे कम्पनीलाई दिइने योजना थियो । तर, अब रेल्वे भारतलाई नै भाडामा दिएर भए पनि सञ्चालन गर्ने रेल विभागको तयारी छ । रेल विभाग जनकपुर साइटका इन्जिनियर विनोद ओझाले दुईदेखि तीन वर्षका लागि भारतलाई नै भाडामा दिएर आगामी डिसेम्बरदेखि सञ्चालन गर्ने तयारी गरिएको बताए ।

भारतलाई ‘वेट लिज’ वा ‘ड्राई लिज’मा दिनेबारे छलफल भइरहेको ओझाले बताए । वेट लिजमा रेलको इन्जिन, बोगी, कर्मचारी व्यवस्थापन सबै भारतले गर्नेछ । यात्रुबाट हुने आम्दानीको निश्चित रकम नेपाल सरकारले पाउनेछ ।

ड्राई लिजमा इन्जिन र बोगी भारतसँग भाडामा लिई कर्मचारी आफैँ व्यवस्था गरेर नेपाल सरकारले नै चलाउनेछ । तर, सञ्चालनका लागि महिना दिन मात्र बाँकी रहेकाले तत्काल ड्राई लिजमा दिने सम्भावना कम रहेको नेपाल रेल्वे कम्पनीका निमित्त महाप्रबन्धक तुलबहादुर डाँगीले बताए ।

भारतले ७ अर्ब भारतीय रुपैयाँ लगानीमा रेल निर्माण गरिरहेको छ । पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर लिक बनाएको थियो । दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १८ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म १७ किलोमिटर गरी ६९ किलोमिटर रेलसेवा सञ्चालनका लागि पूर्वाधार निर्माण भइरहेको छ ।

परीक्षणका लागि भारतको जयनगरदेखि जनकपुरसम्म दुईपटक भारतीय रेल नेपाल आइसकेका छन् । भारतको हरियाणाबाट रेल्वेका सामान लिएर आएका रेलका चालक पनि भारतीय नै थिए ।

नेपाल रेल्वेसँग १७ कर्मचारी
नेपाल रेल्वे कम्पनीसँग हाल १७ कर्मचारी मात्र छन् । कर्मचारी अभावका कारण नेपाल रेल्वे कम्पनीले तत्काल रेल सञ्चालन गर्न नसक्ने निमित्त महाप्रबन्धक तुलबहादुर डाँगीले बताए । कम्पनीसँग ओभरसियर र खरिदार एक–एकजना, वैदार चार र बाँकी श्रेणीविहीन कर्मचारी छन् । रेल सञ्चालनका लागि नयाँ कर्मचारी भर्ना गरेर तालिम दिनुपर्ने डाँगीले बताए ।

नेपालसँग भएका दुवै चालक अदक्ष
रेल्वे कम्पनीमा दुई चालक रफिक कवाडी र हेमबहादुर थापा अहिले पनि कार्यरत छन् । तर, माघ ०७१ देखि जयनगर–जनकपुर रेल्वेलाई न्यारोगेजबाट ब्रोडगेजमा स्तरोन्नति गर्न थालेपछि रेल सेवा बन्द छ । न्यारोगेजका दुवै चालकले ब्रोडगेज रेल कुदाउन नसक्ने नेपाल रेल्वेका निमित्त महाप्रबन्धक तुलबहादुर डाँगीले बताए । नयाँ पत्रिकाबाट