मन्त्रालय अगाडी धर्ना रोक्न सुरक्षामा कडाइ

519
views

काठमाडौँ, १४ कात्तिक । सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना कार्यक्रम रोक्न सुरक्षामा कडाई गरिएको छ । मन्त्रालय अगाडी अस्थायी, करार र ज्यालादारी कर्मचारीहरु धर्नामा बस्न थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

मन्त्रालय परिसर अगाडि आज नेपाल प्रहरीले सुरक्षा घेरा बढाएको छ भने सिंहदरबार प्रवेशमा परिचयपत्र, प्रवेशपत्र वा नागरिकताको जाँचमा समेत कडाइ गरिएको छ ।

विभिन्न मन्त्रालय, विभाग, आयोग, सचिवालय, कार्यालय र जिल्लाअन्तर्गतका अस्थायी, करार र ज्यालादारी कर्मचारीले २४० दिन काम गरेकालाई स्थायी प्रक्रियामा सामेल गराउन माग गर्दै तीन दिनदेखि धर्ना दिएका थिए ।

सङ्घीय संरचनानुसार समायोजनमा परेर हटाइएका कर्मचारीले आफ्नो रोजीरोटीको सुनिश्चितता गर्न माग गर्दै कार्यालय समयमा मन्त्रालयको प्रवेशद्वारमा दैनिक चार घण्टा धर्ना दिन थालेपछि आजदेखि सुरक्षाकर्मीले कडाइ गरेको हो ।

ती कर्मचारीलाई विगतमा सरकारले गरेको सम्झौताअनुसार व्यवस्थापन गर्न कर्मचारी सङ्घ सङ्गठनले माग गरेका छन् ।