काँग्रेस महासमिति बैठकको तयारीमा

520
views

ललितपुर, १५, कात्तिक । आगामी मंसिरमा हुने महासमितिको बैठकको लागि नेपाली काँग्रेसका संबन्धित समितिहरु सक्रिय भएका छन् । काँग्रेसले महासमिति बैठकको तयारीलाई तीब्रता दिएको छ । मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा हुने महासमितिको बैठकमा प्रस्तुत गरिने विभिन्न प्रस्तावहरूलाई अन्तिम रूप दिनका लागि सम्बन्धित समितिहरु जुटिरहेका हुन् ।

महासमितिको बैठकमा लैजाने राजनीतिक प्रस्तावका लागि पनि गृहकार्य भइरहेको छ । पार्टीका उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित राजनीतिक प्रस्ताव मस्यौदा तयारी समितिले पार्टी कार्यालय सानेपामा बुधबार राजनीतिक प्रस्ताव तयारीका लागि छलफलको आयोजना ग¥यो ।

कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएको बताउँदै लोकतान्त्रिक पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउँदा थप प्रभावकारी होला भनेर नै सबैको सुझाव सङ्कलन गरिएको स्पष्ट पारे ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्कालगायत नेपाली काँग्रेसका केन्द्रीय समितिका सदस्यहरू, भ्रातृ एवं विभिन्न पेशा व्यवसायसँग आवद्ध शुभेच्छुक संस्थाका प्रतिनिधि, सामाजिक अगुवा र सञ्चारकर्मीहरूको सहभागिता थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले समितिले सकेसम्म प्रदेश तहसम्म पुगी बढी भन्दा बढी व्यक्तिहरूसँग छलफल गरेर प्रस्ताव तयार गर्ने बताए ।

उपसभापति निधिको संयोजकत्वमा गठित राजनीतिक प्रस्ताब तयारी समितिमा केन्द्रीय सदस्यहरू अजुर्ननरसिंह केसी, महेश आचार्य, नरहरि आचार्य, ईश्वरी न्यौपाने, मीन विश्वकर्मा, जीवन परियारलगायतको १७ सदस्यिय समिति रहेको छ ।

पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकतत्वमा गठन भएको समितिले सातै प्रदेशमा छलफल गरेर विधान संशोधनलाई अन्तिम रुप दिइसकेको समितिका सदस्य सचिव केशव रिजालले जानकारी दिए ।
समितिले तयार पारेको मस्यौदा बिहीबार बस्ने १३ सदस्यीय पूर्ण बैठकले विस्तृत अध्ययन गरेपछि १७ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरिने उनले जानकारी दिए ।