हल्लै हल्लामा जग्गा कब्जा

729
views

टीकापुर । कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलामा आफूलाई सुकुम्बासी बताउने एक समूहले हल्लैहल्लामा स्थानीयको जग्गा कब्जा गरेका छन् । स्थानीय गोविन्द श्रेष्ठको झण्डै ५ विघा जग्गामा उनीहरुले त्रिपालका टहरा बनाएर जग्गा कब्जा गरेका हुन् ।

पहाडी जिल्लाहरुमा टीकापुर नगरपालिकामा भूमिहिन सुकुम्बासीहरुका लागि जग्गा वितरण भइरहेको हल्ला फैलिएको र यस्तो हल्ला टीकापुर नगरपालिका–१ मा जग्गा कब्जा गरेर बसेकाहरुले नै फैलाएको पहाडबाट झरेकाहरूले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडि जिल्ला अछाम, बाजुरा, कालिकोट, दैलेख, सुर्खेतलगायतका ठाउँबाट आएको बताउने १ सय ४६ जनाले त्रिपालका टहरा निर्माण गरी जग्गा कब्जा गरेका हुन् ।

स्थानीयले एकजना सत्ता पक्षकै नेताले उनीहरुलाई जग्गा कब्जा गर्न उक्साएको आरोप लगाएका छन् । बुधबार रातिबाट उनीहरु त्रिपालमै बसेका छन् । तत्कालीन नेकपा माओवादीले द्वन्द्वकालमा कब्जा गरेको उक्त जग्गामा सुकुम्बासीले टहरा निर्माण गर्न थालेपछि स्थानीयले विरोध गरेका छन् ।

कालिकोटको पलाँता गाउँपालिका(२ धौलागाहाका काशिराम विश्वकर्माले आफूसँग एक धुर जग्गा पनि नभएपछि राज्यलाई दबाब दिन जग्गा कब्जा गरेको बताए । ’हामी सुकुम्बासी हौं, पहाडमा खान, लाउन समस्या छ, त्यही भएर यहाँ आएर बसेका हौं, ’विश्वकर्माले भने, ’हाम्रो कतै पनि सुनुवाई नभएपछि हामी यो जग्गा कब्जा गर्न बाध्य भएका हौं ।’

ऐलानी जग्गा भएको थाहा पाएपछि आफूहरु टहरा निर्माण गर्न आएको बाजुरा घर बताउने गणेश तिरुवाले बताए । सुकुम्बासीले उक्त जग्गा ऐलानी बताए पनि स्थानीयका अनुसार उक्त जग्गा सरकारी भएको बताएका छन् ।

टीकापुरस्थित टीकापुर बहुमुखी क्याम्पसको जग्गामा अतिक्रमण गरी बसोबास गर्दै आएका जयश्वर सार्कीको नेतृत्वमा उक्त जग्गा कब्जा गरिएको बताइन्छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले गोविन्द श्रेष्ठको जग्गामा आफूलाई सुकुम्बासी बताउने केही व्यक्तिले त्रिपाल टाँगेर कब्जा गरेको बताए ।