नागरिकता र लालपुर्जा सहितको सेवा लिएर सरकारी टोली गुर्जामा

836
views

बेनी, १६, कार्तिक । सदरमुकाम बेनीमा रहेका सरकारी कार्यालयहरु सेवा सुविधा लिएर म्याग्दीकै दुर्गम गाउँपालिका गुर्जामा गएका छन् । नागरिकता र लालपुर्जा लिएर सरकारी टोली धौलागिरी गाउँपालिका–१ गुर्जा पुग्दा गुर्जालीहरु उत्साहित भएका छन् ।

दुर्गम र विकट भएका कारण वर्षौ देखि नागरिकता र लालपूर्जाबाट बञ्चित गुर्जालीलाई घरदैलोमै सुविधा दिन जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाको सहयोगमा गुर्जामा ८ वर्ष पछि एकिकृत घुम्ती शिविर लगेको थियो ।

घुम्ती शिविर गाउँ आएपछि गुर्जालीले सुविधा पाएको वडा अध्यक्ष झकवहादुर छन्त्यालले बताए ।

प्रतिनिधिसभाका सांसद भूपेन्द्र वहादुर थापा, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र वहादुर केसी, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक बीरवहादुर वुढामगर, नापी, मालपोत, स्वास्थ्य, महिला तथा बालबालिका कार्यालय, जनप्रतिनिधि लगायत नेपाली सेना, प्रहरी र सरकारी कार्यालयका कर्मचारी सहितको टोली विहिवार गुर्जा पुगेको हो ।

शुक्रवार र शनिवार दुइदिन सञ्चालन हुने एकिकति घुम्ती शिविरमा नागरिकता, अपाङगता परिचयपत्र, स्वास्थ्य सेवा, मालपोत र नापी सम्बन्धि सेवा दिईनेछ ।