भारत पूर्वी क्षेत्रमा आएको आँधीबाट ३३ को मृत्यु

726
views

कार्तिक, २ गते । भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाले ज्यान गुमाएका छन् । प्रकोप व्यवस्थापनसम्बन्धी निकायका उच्च अधिकारीहरूले शक्तिशाली आँधीका कारण अरू पनि धेरै क्षति भएको जानकारी दिएका छन् ।

‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघन्टा १२० किलोमिटरको गतिमा आएको समाचारमा जनाइएको छ । आँधी तमिलनाडु राज्यमा शुक्रबार आएको हो ।

आँधीले हजारौँ रूखहरू भाँचिएका छन् भने ठूलो संख्यामा घरहरू भत्किएका छन् । घरबारविहीन भएका हजारौँ स्थानीय बासिन्दालाई शिविरहरूमा राखिएको छ ।

मृत्यु भएकामध्ये २० जना पुरुष र ११ जना महिला छन् । त्यसैगरी दुईजना बालबालिकाको पनि आँधीमा परेर मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

‘घरबारविहीन भएकाहरूको संख्या एक लाख ७७ हजार ५ सय पुगेको छ । उनीहरूलाई ३ सय ५१ वटा शिविरमा राखिएको छ,’ एक अधिकारीले पत्रकारहरूसँग भने ।

प्रदेशका मुख्यमन्त्री इडाप्पाडी पालानीस्वामीले पीडित प्रत्येक परिवारलाई १४ हजार डलरका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् । अधिकांशको मृत्यु बाढीले बगाएर, घरहरूले च्यापेर र विद्युतीय गढबढीका कारण भएको हो ।