फोहोर गरे एक लाखसम्म जरिवाना

709
views

चितवन, मंसिर– १९ भरतपुरमा भरतपुर महानगरले सरसफाइ कार्यक्रमलाई प्रभावकारी बनाउने सम्बन्धमा फोहोरमैला व्यवस्था ऐन २०६८ को प्रावधानअनुसार जथाभावी फोहोर फाल्नेलाई ५ हजारदेखि १ लाखसम्म जरिवाना गर्ने र फोहोर फालेको बारेमा सूचना दिनेलाई जरिवाना रकमको २५ प्रतिशत पुरस्कार दिने मंसिर ७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

महानगर प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले भने, ‘फोहोर व्यवस्थापनमा सहयोग गर्नेलाई पुरस्कार र असहयोग गर्नेलाई कारबाही हुन्छ ।’ फोहोरको प्रकृति, परिणाम र पटकेको आधारमा १ लाखसम्म जरिवानाको व्यवस्था गरिएको उनले बताए ।
नगर कार्यपालिकाको समितिमा हेरफेर गरिएको छ । अनुगमन समितिको संयोजक नगरप्रमुख नै रहेकी छन् भने आर्थिक र पूर्वाधार विकास महाशाखाका सदस्य समितिमा थप गरिएको छ । त्यस्तै, सामाजिक विकास समितितर्फ संयोजक भरतपुर २५ का वडा अध्यक्ष विजय भुजेल नै रहेका छन् भने सदस्यसचिवमा तुलसीप्रसाद श्रेष्ठ रहेकामा उनको स्थानमा कलावती ओझालाई राखिएको छ ।
महानगरका प्रवक्ता अरूण पीडित भण्डारीका अनुसार वातावरण तथा विपद् व्यवस्थापन समितिमा वडा ५ का अध्यक्ष पदमपाणि सुवेदी साविककै संयोजक रहेको र सदस्यसचिवमा भने सुशीला रेग्मीलाई हटाएर अञ्जनी अधिकारीलाई राखिएको छ । सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजक २२ नम्बर वडा अध्यक्ष विष्णुराज महतो रहेकोमा साविकको कायम गरिएको छ भने सदस्यसचिवमा रोमबहादुर महतको ठाउँमा अर्जुन पौडेल रहेका छन् ।
सरसफाइ तथा ल्यान्डफिल्ड साइड उपसमिति संयोजकमा वडा ३ अध्यक्ष चन्द्रमित्र पण्डित रहेका छन् भने सदस्यसचिव लीलाराज खरेललाई हटाएर सुशीला रेग्मीलाई राखिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।
आर्थिक वर्ष ०७३/०७४ मा पर्यटनतर्फ संघीय सरकारबाट प्राप्त भई महालेखाबाट बेरूजु औँल्याएको रू. ३ करोड रकम सम्परीक्षणका लागि बेरूजु खातामा दाखिला गर्ने निर्णय भएको प्रवक्ता भण्डारीले जानकारी दिए । नगर सदस्यमध्येबाट नगर कार्यपालिकाले मनोनीत गर्ने एक जना सदस्यमा धनकुमारी विकलाई मनोनीत गरिएको छ । वडा नं १६ मा करेन्ट लागी मृत्यु भएका विद्युत् कामदारका परिवारलाई राहतस्वरुप २ लाख ५० हजार उपलब्ध गराउने निर्णय भएको छ ।
नगर प्रहरीले जफत गरेका र ट्राफिक प्रहरीबाट प्राप्त वस्तुको लिलाम बिक्री प्रक्रिया अघि बढाउनेसमेत निर्णय महानगरको कार्यपालिका बैठकले गरेको छ । वडा नम्बर २ र १२ को वडा कार्यालय साँघुरो भएकाले अर्को आवश्यक जग्गा पहिचान गरी केन्द्रमा स्वीकृतिका लागि पठाउने निर्णय भएको छ ।
महानगरभित्रको कालोपत्रे सडकको लगत तयार गरी एकरुपता कायम गर्ने र पौष ११ गतेभित्र नगरसभा सम्पन्न गर्ने गरी नगरप्रमुख रेनु दाहालको संयोजकत्वमा उमप्रमुखसहित ७ जनाको टिम बनाइएको महानगरका प्रवक्ता भण्डारीले जानकारी दिए ।