नेपाल–चीन रेलमार्ग प्रतिवेदन बुझाईयो

697
views

काठमाडौ, २५ मंसिर । नेपाल भ्रमणमा रहेको चाइना रेलवेज कन्स्ट्रक्सन कर्पोरेसनको टोलीले चीन नेपाल सीमापार रेलवेको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई चिनियाँ नेशनल रेल्वे अथोरिटीका उपप्रशासक आन लुसङको टोलीले रेलमार्ग निर्माणसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएको हो ।

रेलमार्ग भौगोलिक अवस्थिति उल्लेख गरिनुका अलावा यो रेलमार्गका लागि तिब्बततर्फ बिगत ३ बर्ष यता के कति अध्ययन गरिएको थियो भन्ने प्रतिवेदनमा जनाइएको छ । तिब्बतको क्षेत्रीय रेलमार्गको अवस्था र त्यसलाई नेपालसँग कसरी जोड्ने भन्नेबारे उल्लेख छ । यही खण्डमा काठमाडौँ–पोखरा, काठमाडौँ–लुम्बिनी र मेची महाकाली रेलमार्गको चर्चा यी रेलमार्गसँग केरुङ–काठमाडौँ रेलमार्गपनि जोड्ने कुरा उल्लेख छ ।

चीन–नेपाल रेलमार्ग पर्यटन र आर्थिक दृष्टिले किन महत्वपूर्ण छ भन्ने चर्चा गर्दै नेपाल–चीन व्यापारबारे उल्लेख छ । त्यसमा यो रेलमार्गबाट सन् २०४५ सम्म कति परिमाण र परिणाममा चीन–नेपाल–भारत व्यापार हुनसक्छ भन्नेमा तथ्याङ्कगत अनुमान छ ।

रेलमार्गको स्टेसनहरु रहने ठाउँ, रेलमार्गको आर्थिक मूल्याङकन र आइपर्ने समस्या समाधान बारे प्रतिवेदनमा उल्लख गरिएको छ ।