नियोजित रुपमा पार्टी फुटाएको विवेकशील साझाको आरोप

841
views

काठमाडौं, माघ–१ विवेकशील साझा पार्टीले पार्टीका पूर्व संयोजक उज्वल थापा समूहले नियोजित रुपमा पार्टी फुटाएको आरोप लगाएको छ।

थापाले केन्दीय समिति बैठक हुनुभन्दा पहिले नै पार्टी नयाँ दर्ता प्रकृया शुरू गरेको मंगलबार विवेकशील साझाका प्रवक्ता डा. सूर्यराज आचार्यद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।
साथै विवेकशील साझाको केन्द्रीय समितिले पछिल्लो अवस्थालाई अनपेक्षित र दुखद घटनाको रुपमा मूल्यांकन गर्दै पार्टीका संयोजक रवीन्द्र मिश्रद्धारा पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्ने निर्णय गरेको छ। केन्द्रिय समितिको बैठकमा पार्टीमा घटेका पछिल्ला घटनाहरु र अन्य समस्याहरुबारे छलफल भएको बताइएको छ ।
यसका साथै विवेकशील साझाको केन्दीय समितिले आगामी २०७६ साल फागुन १५ गतेदेखि १९ सम्म काठमाडौंमा आफ्नो पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ। विवेकशील साझाका प्रदेश नं १ को संयोजकमा अनिल भेटवाल चयन भएका छन्। पार्टीले केही महिनाअघि देशका सातै प्रदेशबाट प्रदेशको सिफारिशमा एकजना महिला केन्द्रीय समितिमा चयन गर्न लिएको निर्णय अनुसार सुदूर पश्चिम प्रदेशबाट शैलु श्रेष्ठ, प्रदेश नं ५ बाट सरस्वती पन्थी भुसाल र गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारीलाई केन्द्रीय समितिमा सामेल गरेको छ।
विवेकशील साझा पार्टीले पार्टीका केन्द्रिय विभागहरुको पुर्नगठन र जिम्मेवारीको वाँडफाँड गरेको जनाएको छ। जसअनुसार कोष संकलन (डा उमेद पुन), संगठन (मुमाराम खनाल),अभियान (किशोर थापा), नीति तथा कार्यक्रम (डा सूर्यराज आचार्य), प्रशिक्षण (केशव दाहाल), सञ्चार (किरणकृष्ण श्रेष्ठ), सामाजिक न्याय तथा समावेशिता (प्रकाशचन्द्र परियार), कानून (निरूपमा यादव), उद्यमशीलता (रमेश महर्जन), तथ्यांक (राम साह), केन्द्रीय कार्यालय (मानवी पौडेल) तथा विदेश विभाग (रवीन्द्र मिश्र) ले सम्हाल्ने भएका छन्।